धमाधम खुल्न थाले गुल्मीका विद्यालय

गुल्मी/२७ भदौ-गुल्मीका विद्यालयहरु विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन हुन थालेका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले विद्यालय संचालन गर्ने अधिकार स्थानीय तहलाई दिएपछि भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरीएको हो ।


जिल्ला प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले संक्रमणको अवस्था हेरेर विद्यालय संचालन गर्ने वा नगर्ने भन्ने अधिकार स्थानीय तहलाई दिने निर्णयसँगै विद्यालय सञ्चालनमा आएको बताइन ।


जिल्लाको धुर्कोट गाउँपालिकाले संक्रमण्काो अवस्थालाई हेरेर स्वास्थ्य मापदण्डको पालना गरी भदौको पहिलो हप्ताबाट सञ्चालनमा ल्याएको छ । त्यस्तै, कालीगण्डकी गाउँपालिकाले भदौ १३ गतेबाट भौतिक उपस्थितिमै विद्यालयहरु संचालन गरेको थियो । सत्यवती गाउँपालिकाले गत आइतबारबाट विद्यालयमा पठनपाठन संचालन गरेको छ । विद्यार्थी संख्या धेरै भएका विद्यालयहरुले समूह विभाजन गरेर स्वास्थ्यका मापदण्डरु पालना गर्दै संचालनमा ल्याएका छन् ।


चन्द्रकोट, इश्मा गाउँपालिका, मुसिकोट र रेसुङगा नगरपालिका २७ गते आइतबारबाट विद्यालयहरु संचालन गर्ने गरी तयारी गरेका छन् । गुल्मीदरवार गाउँपालिकाले भने २८ गते सोमबारबाट विद्यालय संचालन गर्ने जनाएको छ ।


जिल्लामा ५११ सामुदायिक र ५४ संस्थागत गरी ५६५ विद्यालय रहेका छन् भने ६९ हजार ८१८ विद्यार्थी संख्या रहेको छ ।