विद्यार्थीको चर्को दबावपछि त्रिचन्द्रद्वारा शुल्क फिर्ता

काठमाण्डौं/२१ पुष– देशकै सबैभन्दा पुरानो शैक्षिक संस्था त्रिचन्द्र क्याम्पसले बढाएको शुल्क विद्यार्थीहरूको चर्को आन्दोलनका कारण फिर्ता गरेको छ ।
क्याम्पस प्रशासनले एकाएक ११० प्रतिशतले शुल्क वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । विद्यार्थीहरूको चर्को दवावपछि क्याम्पसले बढाएको शुल्क पुनः यथावत कायम गरेको छ ।
प्रशासनले शुल्क वृद्धि गरेपछि हप्तादिनसम्म विद्यार्थीहरूले गरेको आन्दोलनमा क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने माथि हातपात समेत भएका थिए । विद्यार्थीको आन्दोलनले हिंसात्मक रूप लिएपछि प्रशासनले बाध्य भएर शुल्क फिर्ता गरेको सहायक क्याम्पस प्रमुख जनक ढुंगानाले जानकारी दिए । उनले बताएअनुसार शुल्क समायोजन सन्दर्भमा कमिटी गठन गरेर पुनः निर्णय गरिनेछ ।
क्याम्पसमा १४ हजार विद्यार्थी अध्ययनरत छन् । लामो समयदेखि शुल्क समायोजन गर्न नसक्दा क्याम्पसले नौ करोड रुपैंयाँ घाटा बेहोरिरहेको अवस्था छ । घाटामा गएपछि क्याम्पस प्रशासनले शुल्क समायोजन गर्न शिक्षण शुल्क वृद्धि गरेको थियो ।
त्रिचन्द्र क्याम्पसले १२ वर्षसम्म एउटै शुल्कमा पढाउँदै आएको भन्दै गत मंसिरमा विज्ञान र मानविकी संकायतर्फको शिक्षण शुल्क बढाएको थियो ।