नेपाल संस्कृत विश्वविद्यालयले गम्भीर समीक्षा गर्नु आवश्यक छ


भाग दुई
काठमाडौं /११ बैशाख- नेपाल संस्कृत विश्वविद्यालय स्थापना तथा कानुनी दफाको अधीन तथा उद्देश्यमा आधारित भएर संस्कृत शिक्षा तथा पूर्वीय दर्शनकै क्षेत्रको विकासमा फूल्न, फल्न र समृद्ध हुुनुपर्ने सपना केन्द्रित हुनु आवश्यक हुन्छ । यस सन्दर्भमका नेपाल संस्कृत विश्वविद्यालयले तपसिलका विषय पक्षमा गम्भीर समीक्षा गर्नु आवश्यक देखिन्छ ।

१ : विश्वविद्यालय स्थापनाको विगत ३४ वर्षको शैक्षिक कार्यक्षेत्रको लक्ष्य प्राप्तिमा स्वदेश तथा विदेशमा संस्कृत शिक्षा विकासको सन्दर्भमा विविले खेलेको भूमिका, प्राप्त नतिजामाथि व्यापक खोज, अनुसन्धान गरी कार्यक्षेत्र, विषय क्षेत्र तथा कानूनी प्रावधान परिमार्जन आवश्यक भएको हो वा होइन ? प्रमाणसहित विश्वविद्यालयलाई आधुनिक विश्वबजार तथा शैक्षिक समाजसापेक्ष प्रतिस्पर्धाका विकास गर्न सक्नु पर्दछ ।

२ : विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु, विषयगत जनशक्ति उत्पादन, स्वदेश तथा विदेशमा तिनको प्रभावकारिता, विषयगत कार्यक्षेत्र विस्तार तथा रोजगारका अवसरको अवस्था के छ ?

३ : आन्तरिक तथा बाह्यबजार माग अध्ययन, विश्लेषण र आपूर्तिका लागि विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन तथा विकासमा हासिल गरेका उपलब्धिहरुको बृहत् अध्ययन, अनुसन्धान भएको छ वा छैन ? आधुनिक विश्वमा पेसागत बजार, विश्व ज्ञानको समाज, शैक्षिक उत्पादनको खपत हुने बजार अनुरुप विविले विषय क्षेत्र चयन, जनशक्ति उत्पादन, विकास र प्रयोगमा परिमार्जन गर्नुपर्ने हो वा होइन ? विस्तृत रणनीतिक योजना निर्माण र कार्यान्वयन आवश्यक देखिन्छ ।

४ : विश्वविद्यालयले नेपाली शैक्षिक क्षेत्रमा विषयगत विशिष्टता कायम गर्दै, प्रादेशिक संरचना बमोजिम संस्कृत शिक्षा, पूर्वीय दर्शन, योग शिक्षा तथा प्राकृतिक चिकित्सा एवम् आयुर्वेद विषयको उच्च शिक्षाका क्षेत्रमा विशेष रुपमा सीमित भएर आफ्नो विशिष्टता कायम गर्न आवश्यक देखिन्छ ।

५ : पूर्वीय दर्शन, ज्ञान तथा संस्कृत शिक्षाको विविधताको पक्षको सम्बद्र्धन तथा प्रवद्र्धनका साथ पश्चिमी ज्ञान तथा दर्शनको संयोजनमा विविले हासिल गरेका प्राप्ति, विद्यमान सामना गर्नुपरेका समस्या, चुनौती र तिनका कारणहरु, समाधानका उपायहरु तथा अवसरका सम्भावनाहरु के के हुन सक्छन् ? रणनीतिक योजना तयार पारी सार्वजनिक गर्न सक्नु पर्दछ ।


६ : विश्वविद्यालय अनुदानबाट प्रकाशित विश्वविद्यालयको उच्च शिक्षा सूचना प्रणालीमा नेसंविविको संस्कृततर्फको शिक्षार्थीको भर्ना दर अति न्यून देखाईएको छ । सुप्रसिद्ध शैक्षिक संस्था वाल्मिकी जस्ता विद्यापीठमा संस्कृत विद्यार्थीको अत्तोपत्तो छैन । यसले संस्कृत शिक्षण सिकाइप्रति आकर्षण अभाव हो वा तथ्यांकमा गम्भीर त्रुटी हो तर विगत ५ /७ वर्षदेखि यसै किसिमको विवरण दोहोरिएको छ ।

७ : संस्कृत विश्वविद्यालयमा शिक्षाशास्त्रका विद्यार्थीको वर्चस्व देखिने विद्यमान अवस्थाले संस्कृत शिक्षाको प्राज्ञिक गुणात्मकता, विषय क्षेत्रगत विशिष्टता र विश्वबजारमा प्रतिस्पर्धात्मक प्रवेशका लागि धेरै चिन्ता थपेको छ ।

८ : संस्कृत शिक्षाको विकास तथा प्रवर्धनमा खेलिएका भूमिका, तथा उत्पादित जनशक्तिको उत्पादनमा विविको प्रभावकारिता माथि बौद्धिक समाजमा अहम् प्रश्न उठ्ने गरेकोले मुलुकको समग्र जनशक्ति विकास योजनामा संस्कृत शिक्षा उत्पादन, विकास र प्रयोगलाई जोड्न अपरिहार्य भएको स्थिति देखिन्छ । यसर्थ, विविले शैक्षिक क्षेत्रका बहुआयामिक (पूर्वीय सबै दर्शन /पूर्वीय ज्ञान / पूर्वीय आध्यात्मिक चेतना÷ योग तथा शरीर विज्ञानशास्त्र/ प्राकृतिक चिकित्सा/आयुर्वेद/ मुलुकका भाषाभाषीको अध्ययन/ दक्षिण एशिया तथा एसिया क्षेत्रका भाषाभाषी तथा विभिन्न पछिल्लो अवधिमा विविध भाषामा उत्पादित हरेक किसिमका ज्ञानशास्त्र) का साथै संस्कृति/ धर्म/ परम्परा/ समेतको अध्ययन, अनुसन्धान रणनीतिक योजना तयार पार्ने र कार्यान्वयन गर्ने दिशामा संस्कृत विश्वविद्यालय प्रवेश हुनु आवश्यक छ ।
यो लेख पाँच भागमा विभक्त छ । अरु लेख आगामि दिनमा क्रमशः आउनेछन् ।