काठमाडौं /८ बैशाख – शैक्षिक विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुसँग पाँच वर्षदेखि २५ तथा ५० वर्षसम्मको अल्पकालीनदेखि दीर्घकालीन प्रारम्भिक तहमा नै शैक्षिक योजना निर्माण हुनु पर्दछ । सबै विवि तथा प्रतिष्ठानहरुसँग शैक्षिक कार्यक्रम अगाडि बढाउने नीति, योजना, रणनीति, कार्यनीति तथा कार्यक्रमहरु सुस्पष्ट हुनुपर्दछ । शैक्षिक क्षेत्र तथा जनशक्ति विकास एवम् रोजगार अवसरका पक्षमा आम जनता र राजनीतिक नेतृत्वले मुख्य चासो राख्ने विषय पनि सीप मूलक तथा विकाउ शिक्षा कार्यक्रमप्रति हुन्छ । यसर्थ देशको समग्र भौतिक, मानवीय विकास, सम्मानित नागरिक समाजको निर्माण तथा आम जनताको जीवनस्तरमा सुख समृद्धिको आकार मुलुकको शिक्षा पद्धति र उत्पादित दक्ष जनशक्तिको हातमा हुने गर्दछ । यस सन्दर्भमा मुलुक बहुविश्वविद्यालय ÷ शैक्षिक प्रतिष्ठानमा प्रवेश भएको छ । यी शैक्षिक निकायहरु केही अति ठूला भीमकाय स्वरुपका छन् त केही शून्य अवस्थाझैँ राज्यका लागि सेतो हात्तिझैँ लाग्दछन् । विषयान्तर र असम्बद्ध क्षेत्रमा प्रवेश हुनु नेपाली विश्वविद्यालयहरुको विशेषता बनेको छ । यो लेख पाँच भागमा विभक्त छ र नेपालका विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरुको मार्ग तथा जनशक्ति उत्पादनमा विविहरु इमानदार हुनुपर्ने रणनीतिक योजनासम्बद्ध हुनेछ ।
भाग एक
त्रिभुवन विश्वविद्यालय : विश्वविद्यालयहरुमध्ये नेपालको ऐतिहासिक पुरानो तथा ठूलो त्रिभुवन विश्वविद्यालय प्राज्ञिक, प्राविधिक, शैक्षिक, भौतिक पूर्वाधार तथा देशव्यापी फैलावट लगायतका सबै दृष्टिकोणले वटवृक्ष सरहको शैक्षिक अध्ययन संस्था मानिन्छ । तापनि विश्वविद्यालयसँग प्राज्ञिक, प्राविधिक, शैक्षिक, चल अचल सम्पत्ति तथा मानवस्रोत जस्ता व्यवस्थापकीय पक्षमा धेरै प्रश्नहरु उठ्ने, उठाउने र विवादमा पर्ने गरेका घटनाहरु निरन्तर आइरहन्छन् । उच्च शिक्षाको मुख्य मेरुदण्ड मानिने त्रिविको समुचित समीक्षात्मक चिरफार, स्पष्ट मार्ग अवलम्बन विना समग्र देशको उच्च शिक्षा प्रशासनले सकारात्मक गतिलिने कल्पनासमेत गर्न सकिँदैन । त्रिविले झण्डै ७६ प्रतिशत उच्च शिक्षाको भार एक्लै बहन गरिरहेका सन्दर्भमा यसको शैक्षिक सुशासन र पारदर्शी शैक्षिक नेतृत्व विना सुखी नेपाली समृद्ध नेपालको सपना साकार हुन कठिन हुने चर्चा सुनिन्छ । जुन सत्यपरक तथा यथार्थ लाग्दछ, तसर्थ तपसिलका पक्षमा त्रिवि लगायत सबै नेपालका विश्वविद्यालयहरुको ध्यानाकर्षण हुनु अति जरुरी भएको छ । सबै विश्वविद्यालयहरुले आफूमा खोज्न र कार्यान्वयन गर्नपर्ने कुराहरु
१ : विश्वविद्यालयले विषयगत क्षेत्रमा प्राप्त गरेका उपलब्धि÷ व्यवस्थापन पक्षमा सामना गर्न परेका समस्या तथा चुनौतीहरु, सम्भावनाका क्षेत्र तथा अवसरहरु के के छन् ?
२ : वटवृक्षको आकारमा प्रसिद्ध विश्वविद्यालयको शैक्षिक कार्यक्रम, जनशक्ति उत्पादन र खपतमा गुणात्मकता तथा प्रतिस्पर्धाको व्यवहारिक सबल पक्ष तथा बाधा व्यवधानहरु के के छन् ?
३ : प्राविधिक, व्यावसायिक तथा विषयगत शिक्षातर्फको विस्तृतीकरण, मुलुकका सबै क्षेत्रमा फैलावट र सबै नागरिकका समक्ष समानता र समतामूलक पहुँच अभिवृद्धि गर्नमा विश्वविद्यालयमा के के योजना तयार तथा काम भइरहेका छन् ?
४ : प्रादेशिक संरचनामा सबै प्रदेशमा त्रिविका सबै शैक्षिक संस्थान तथा संकायका शैक्षिक कार्यक्रमहरुको अध्ययन, अनुसन्धान तथा विकास र समृद्धिका लागि जनशक्ति उत्पादन, विकास तथा बजार मागको सन्तुलन मिलाउन के कसरी योजना तथा कार्यक्रमहरु मिलाइएका छन् ?
५ : प्रतिस्पर्धाको बीचमा त्रिविले शैक्षिक कार्यक्रममा अपनाएको दुई शैक्षिक उत्पादन प्रणाली नियमित तथा आन्तरिक जनशक्ति उत्पादनका गुणात्मकता बीचमा समानता र विभेदकारी खाडल पैदा भएको छ वा छैन ? सो विषयमा गहन अध्ययन, विश्लेषण गरिनु पर्ने आवाजको प्राज्ञिक, प्राविधिक तथा शासकीय जवाफदेहिता सार्वजनिक हुनु अति आवश्यक भएको छ ।
६ : के एउटै विश्वविद्यालयमा नियमित तथा आन्तरिक शैक्षिक कार्यक्रम सञ्चालन गरिनु सकारात्मक तथा नकारात्मक दृष्टिकोणले उचित हुन सक्छ ? यद्यपि आन्तरिक शैक्षिक कार्यक्रम पठनपाठनमा अति प्रभावकारी तथा आर्थिक दृष्टिले अति विवादित शैक्षिक कार्यक्रम मानिन्छ ? यसको निराकरण के हो ? जवाफ कसले दिने ? प्रश्न अनुत्तरित हुनु लाजको विषय हो ।
७ : के एउटै ढाँचा, विधि, प्रक्रिया र मापदण्डमा विविले दक्ष जनशक्ति उत्पादन गर्न सक्दैन ? आदि पक्षमा त्रिविले बृहद अध्ययन विश्लेषण गर्नु अति खाँचो नै भएको आम विद्यार्थीको चासो पाइन्छ ।
८ : विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुको प्राज्ञिक, प्राविधिक तथा व्यावसायिक पेसागत क्षमता के कस्तो छ ? उनीहरुले सरकारी÷ सामुदायिक तथा निजी क्षेत्रका कुन कुन तह र क्षमताका अनुसन्धान आफैँ गर्न, गराउन सक्छन् ? बहस गर्नुपर्ने बेला भएको छ ।
९ : मुलुकभित्रका शैक्षिक, विषयगत प्राविधिक तथा पेसागत आर्थिक क्षेत्रका अध्ययन, अनुसन्धानहरुमा विश्वविद्यालयले आफैँ सक्रिय प्रतिस्पर्धी हुन के के थप पूर्वाधार तथा आवश्यकता कानुनी तथा व्यवधानहरु हटाइनु पर्ने हुन्छ ? स्पष्ट खाका सार्वजनिक हुनु पर्दछ ।
१० : त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुलाई स्वायत्ततापूर्वक आयार्जन गरी आर्थिक रुपमा आत्मनिर्भर बनाउन तथा प्राज्ञिक, प्राविधिक, दक्षताको उत्कृष्ट केन्द्र निर्माण गर्न के के नीतिगत तथा कानुनी प्रावधान तथा पूर्वाधार र मानवीय क्षमताको विकास हुनुपर्ने आवश्यकता देखिन्छ ? रणनीतिक योजनाहरु बनाइनु र कार्यान्वयनमा प्राथमिकतामा पर्नु आजको आवश्यकता भएको छ ।
यो लेख पाँच भागमा विभक्त छ । अरु लेख आगामि दिनमा क्रमशः आउनेछन् ।



