दिलनाथ पुरी
प्रमुख,वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखा
काठमाण्डौं /२१ माघ– प्रत्येक वर्ष नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेश गईरहेका छन् । विदेशमा अध्ययन गर्न जानका लागि विद्यार्थीहरुले नेपाल सरकारसँग वैदेशीक अध्ययन अनुमती पत्र (NOC) लिनुपर्ने हुन्छ । पछिल्लो समय लकडाउनका कारण एनओसी दिन नेपाल सरकारले रोक लगाएको थियो । लकडाउन खुलेपश्चात् नेपाल सरकारले एनओसी जारी ग¥यो । तर कोभिड १९ महामारीको जटिल परिस्थितिमा पनि विद्यार्थीले वैदेशीक अध्ययन अनुमती पत्र लिन छाडेनन । गत वर्ष वैदेशीक अध्ययन अनुमतीपत्र लिने विद्यार्थीको संख्या हेर्ने हो भने ३४ हजार चौरानब्बे रहेको थियो । यो वर्षको अहिलेसम्म १३ हजार ४ सय ५५ जना विद्यार्थीहरुले एनओसी लिई सकेको अवस्था छ । अहिलेको परिस्थितिमा कोभिड १९ महामारीका कारण करीब सबै देशले आफ्ना देशको सिमाना बन्द गरेको अवस्था छ । यो अवस्थामा विद्यार्थीहरुका लागि एनओसी (वैदेशिक अध्ययन अनुमती) कसरी जारी भईरहेको छ भन्ने विषयमा केन्द्रित भएर वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखाका प्रमुख दिलनाथ पुरी सँग खबर एजुकेशनले गरेको संवाद –
अहिले एनओसी (NOC) अनलाईन मार्फत् जारी भईरहेको छ । यसरी अनलाईन सिष्टममा गएपछि एनओसी वितरणमा सहज भएको छ त ?
हामीले २०७७/३/३१ देखी एनओसी अनलाईन सुरुवात् गरेका हौं । अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै एक बाध्यकारी रुपमा भिंडभांड नगराउने तरिकाले पनि अनलाईन सिष्टमले एनओसी सञ्चालन गरिएको छ ।
अनलाईनसँग अहिले हामी त्यति धेरै घुलमिल हुन सकिरहेका छैनौं त्यसकारण अनलाईन मार्फत् जाँदा अलि असहजता त हुन्छ नै तर पनि अहिलेको परिस्थितिमा सबै कार्य अनलाईनबाट नै हुने हुँदा त्यसलाई प्रयोग गर्दै लग्यौं भने भोलीका दिनमा त्यससम्बन्धि अभ्यस्त हुन सकिन्छ । आजको समयमा अनलाईनको धेरै आवश्यकता र महत्व छ । सुरुमा विद्यार्थीलाई एनओसी भर्न अप्ठेरो भएतापनि अहिले अधिकांश विद्यार्थी यसबारे अभ्यस्त भईसकेका छन् । तसर्थ, अबको निकट भविष्यमा हामी पूरै रुपले अनलाईन मार्फत् जाने सोच बनाईरहेका छौं । यसका साथै, अब एमबीएसीको जारी पनि अनलाईनबाटै हुनु आवश्यक छ । विद्यार्थी तथा स्टेक होल्डरहरुले पनि पूर्ण अनलाईनको अपेक्षा गरेका छन्, र यसका लागि हामी लागि परेका छौं ।
लकडाउनपछि विद्यार्थीहरुले एनओसी लिने क्रम कस्तो छ ?
विगत्का दिनमा हामीले एक दिनमा झण्डै सात सय सम्मको पनि एनओसी बाँडेको रिकर्ड छ । आजभोली चाहिँ औषत् सय देखी डेढ सय सम्मको एनओसी निरन्तर रुपमा बाँडिरहेका छौं । विगतको वर्ष भन्दा यो वर्ष कोभिडको कारणले जम्मा संख्यादर कम छ । तर, जान चाहने विद्यार्थी तथा अभिभावक भने घटेका छैनन । विद्यार्थी कोभिडसँग भन्दा पनि आफ्नो भविष्यसँग चिन्तित छन् । यो वर्ष हामीले पन्ध्र सयको हाराहारीमा अनलाईनमार्फत् एनओसी जारी गरेका छौं । अहिले लकडाउन खुलेपछिको अवस्था र कलेज पनि खुलेको आधारमा विद्यार्थी अझ बढ्ने सम्भावना छ ।
पछिल्लो समय विदेश अध्ययन गर्न गएका विद्यार्थीहरु विभिन्न कारणले फर्किएका छन् कि छैनन्?
विदेशका केही विश्वविद्यालयले विद्यार्थीहरुलाई लगेर अलपत्र पारेका कारण ती देशका केही विद्यार्थीहरु फर्केको अवस्था छ । जस्तै– केही वर्ष अगाडी युक्रेन, साउथ कोरिया, बङ्गलादेश जस्ता मूलुकमा गएका विद्यार्थी अलपत्र परेका थिए, त्यहाँ विद्यार्थी तथा अभिभावकहरुको लगानी समेत फस्यो, अपचलन भयो । त्यो हिसाबले अहिले हाम्रो देशले पनि केही देशहरुमा जान बन्देज गरेको छ । मेरो कार्यकालमा विद्यार्थीहरु विदेशमा गएर अलपत्र परी त्यसरी फर्केको अवस्था भने छैन । तर, विदेशमा अध्ययन गर्न भनी गएका केही विद्यार्थी पढाईमा कमजोर भएका कारण र केही भाषाको समस्याका कारणले विदेश अध्ययनमा गएका विद्याथीलाई गन्तव्य देश नपुग्दै यूएईको एयरपार्टबाटै पनि फर्काईएका भने छन् त्यस्तै, कोही फेक डकुमेन्ट बनाएर गएकाहरु पनि फर्केका छन । जस्तै, भर्खरै एउटा केस पनि परेको छ । एउटा विद्यार्थी विदेश अध्ययन गर्न भनि फेक डकुमेन्ट बनाएर गएका थिए, ति व्यक्ति एयरपार्टबाटै फर्किनुप¥यो । विद्यार्थी वा कन्सल्टेन्सी कसले फेक डकुमेन्ट बनायो भन्ने विषयमा अहिले हामि छानविनको प्रक्रियामा छौं ।
विद्यार्थीहरु फाउन्डेशन कोर्षको लागि पनि विदेश अध्ययनमा गएका हुन्छन् यस्तो अवस्थामा एनओसी कसरी जारी हुन्छ ?
एकवर्षको कोर्षविना हामीले एनओसी जारी गर्दैनौं । म आउनुभन्दा पहिले टपअप कोर्षहरुको पनि एनओसी दिईरहेको रहेछ । तर म यहाँ आईसकेपछि त्रिभुवन विश्वविविद्यालयले टपअप कोर्षलाई समकक्षता नदिए पछि हामिले एनओसी दिनमा रोक लगायौं । त्यसपछि, समकक्षता नभएको विषयमा हामीले एनओसी दिने गरेका छैनौं । जस्तै, यहाँको विद्यार्थी एनओसी लिएर विदेशमा पढ्न जान्छन् , र त्यहाँ पढ्ने जुन निश्चित समयावधी हुन्छ, त्यो सकेर यहाँ आईसकेपछि सम्बन्धित विश्वविद्यालयसँग मिल्ने विषय अनुसार समकक्षता गरी अध्ययन गर्ने व्यवस्था मिलाईएको छ । त्यसकारण त्रिभुवन विश्वविविद्यालयको समकक्षतालाई हेरेर मात्र एनओसी जारी गरिन्छ ।



