काठमाण्डौं /२१ माघ– पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने भएको छ ।
कोषले पूर्वीय धर्म, दर्शन, अध्यात्म र संस्कृत भाषालाई जगेर्ना गर्ने उद्देश्यका साथ एकेडेमिक रूपमै विश्वविद्यालयको अवधारणा ल्याइएको हो ।
पशुपति क्षेत्र विकास कोषको भू–उपयाेग तथा संरचनागत गुरुयोजना बनिरहेको छ । गुरुयोजनामा हिन्दु विश्वविद्यालय सञ्चालन पनि रहेको छ ।
कागेश्वरी मनहरा नगरपालिकाको गोठाटारमा पशुपति क्षेत्र विकास कोषको ५३४ रोपनी जमिन छ । त्यही जमिनमा विश्वविद्यालय, अस्पताल, गौशाला, वृद्धाश्रम र पशुपति वाटिका उद्यान बनाउने योजना रहेको सदस्य सचिव प्रदीप ढकालले बताए ।
उनले भने, “वृद्धाश्रम निर्माण भने सुरू भइसकेको छ । जुन समाज कल्याण मन्त्रालय अन्तर्गत् रहेको छ ।” यसै योजनाका साथ पशुपति हिन्दु विश्वविद्यालयका लागि प्रारम्भिक अध्ययन अनुसन्धान भइरहेको र अध्ययनपश्चात् भवन निर्माण गर्ने अवधीलगायत डिपिआरमार्फत् योजना बनाइने उनले जानकारी दिए ।
उनले विश्वविद्यालयले पशुपतिनाथसँग जोडिएका सबै विषयको अध्ययन अध्यापन गर्ने बताए ।
पशुपति क्षेत्र विकास कोषले हाल नेपाल वेद विद्याश्रम स्कूल स्थापना गरी कक्षा १२ सम्म पढाइ सञ्चालन गरिरहेको छ ।



