काठमाडौं /२४ असोज – प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) ले आयोजना गर्न लागेको तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ का लागि विभिन्न विधाका पुरस्कार विजेता छनोट गरेको छ । विद्यालय शिक्षामा गुणस्तर अभिवृद्धि, प्रभावकारी नेतृत्व, नवप्रवर्तन र उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, स्थानीय तह, शिक्षा क्षेत्रका व्यक्तित्व र सञ्चारकर्मी छनोट गरिएको हो ।
छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन प्रा. डा. विद्यनाथ कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । समितिमा रामप्रसाद सुवेदी, नन्दकुमारी महर्जन, दिनेश कुमार श्रेष्ठ र सुदर्शन घिमिरे सदस्य रहेका थिए ।
समितिले प्राप्त आवेदन, मनोनयन र सिफारिसको अध्ययन गर्दै प्रमाणपत्रहरूको परीक्षण र मूल्याङ्कन गरेर नामावली सार्वजनिक गरेको पानका अध्यक्ष सुदाम गौतमले बताए ।
स्थानीय सरकार, विद्यालय, प्रधानाध्यापक, राष्ट्रिय शिक्षा उत्कृष्टता र शिक्षा पत्रकारिता विधामा सम्मान प्रदान गरिनेछ । स्थानीय सरकार र विद्यालय विधामा सातै प्रदेशबाट उत्कृष्ट नगरपालिका, गाउँपालिका, सामुदायिक माध्यमिक विद्यालय र आधारभूत विद्यालय छनोट गरिएका छन् । उत्कृष्ट विद्यालयका प्रधानाध्यापकलाई पनि सम्मान गरिनेछ ।
पानले व्यक्तिगत निकटता वा संस्थागत आबद्धताजस्ता कुनै पक्षपातलाई आधार नबनाई योग्यता, उपलब्धि, प्रभाव र वास्तविक योगदानका आधारमा छनोट गरिएको जनाएको छ ।
यस्ता सम्मानले सरोकारवालालाई अझ जिम्मेवार, सिर्जनशील र परिणाममुखी बन्न प्रेरित गर्ने बताउँदै छनोट भएकाहरूलाई सम्मेलनका अवसरमा विशेष समारोहमा सम्मान गरिने अध्यक्ष गौतमले जानकारी दिए ।
हेर्नुहोस छनोट भएकाहरुको नामावली




