काठमाडौं/२५ असोज – काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा शिक्षकमाथि कुटपिट भएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई लक्षित गरी अपशब्द तथा अश्लील शब्द प्रयोग गर्नुका साथै गालीगलौज र धम्की दिएको आरोप छ ।
सोही क्रममा सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपन बस्दै आएका ४४ वर्षीय ध्रुवप्रसाद घिमिरेको निर्देशनमा विद्यालयका प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार गरिएको प्रहरीको भनाइ छ ।
घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।



