काठमाडौँ /२४ असोज – बुढानीलकण्ठ नगरपालिका–१० स्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद पण्डितमाथि विद्यालय परिसरभित्रै हातपात तथा दुव्र्यवहार भएको घटनाप्रति नेपाल शिक्षक महासङ्घ, जिल्ला समिति काठमाडौँले गम्भीर आपत्ति जनाएको छ ।
२०८३ असोज २२ गते विद्यालय समयमै भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहरिएका व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न महासङ्घले सम्बन्धित निकायसँग माग गरेको छ ।
महासङ्घले शिक्षक तथा प्रधानाध्यापकले भय, धम्की र दबाबमुक्त वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । साथै विद्यालयलाई शान्ति क्षेत्रका रूपमा कायम राख्दै शैक्षिक तथा प्रशासनिक काममा हुने अनधिकृत हस्तक्षेप रोक्नसमेत माग गरिएको छ ।
घटनाबाट प्रभावित प्रधानाध्यापक पण्डितको न्याय, सुरक्षा र सम्मान सुनिश्चित गर्न आग्रह गर्दै महासङ्घले दोषीमाथि कारबाही नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ ।
महासङ्घले शिक्षकको पेसागत सुरक्षा र सम्मान गुणस्तरीय शिक्षाका लागि अनिवार्य रहेको उल्लेख गर्दै विद्यालयमा शान्तिपूर्ण शैक्षिक वातावरण कायम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।



