सुर्खेत/२१ कार्तिक – सुर्खेतको सिम्ता गाउँपालिकाले अब साताको आइतबार पनि विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको कात्तिक २० गते बसेको बैठकले आगामी मंसिर १ गतेदेखि लागू हुने गरी आइतबारका दिनसमेत अन्य सामान्य कार्यदिनसरह पूर्ण अवधिको पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने व्यवस्था रहे पनि राष्ट्रिय पाठ्यक्रम प्रारूपले निर्धारण गरेको वार्षिक पाठ्यघण्टा तथा पाठ्यभार पूरा गर्न थप समय आवश्यक देखिएको भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको जनाएको छ ।
पाठ्यभार समयमै पूरा गर्न कठिनाइ देखिएकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई आइतबार पनि नियमित रूपमा पठनपाठन सञ्चालन गर्न गाउँ कार्यपालिकाको कार्यालयले अनुरोध गरेको छ ।
गाउँपालिकाको यो निर्णयसँगै आगामी मंसिर १ गतेदेखि सिम्ता गाउँपालिकाभित्रका विद्यालयहरूमा आइतबारसमेत नियमित कक्षा सञ्चालन हुनेछन् ।



