काठमाडौँ /२७ साउन – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले बजारको माग अनुसार विश्वविद्यालयले पढाउन नसक्दा र शिक्षालाई रोजगारीसँग जोड्न नसक्दा नेपाली विद्यार्थी विदेशीने समस्या बढेको बताएकी छन् । खबर एजुकेशनको आयोजना र लिबर्टी कलेजको सहयोगमा उच्च शिक्षामा तत्काल देखिएका समस्या समाधानका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् ।
उनले नेपालमा जुनसुकै क्षेत्रमा काम गर्दा विद्यावारिधि, एमफिल गरेका यत्ति वर्षको अनुभव भएका भन्दै गरिने विज्ञापन तथा मापदण्डका कारण ओभर क्वालिफाइड जनशक्तिको माग गर्ने अव्यावहारिक सोचले समस्या आएको बताइन । उनले भनिन् “कार्यक्षेत्रमा उत्रदा त्यो डिग्रीको प्रयोग हुँदैन । मेहनत, समय ज्यादा जाने, बल्लतल्ल पढाई गरेर जागिर, रोजगारीमा जोडिदा तलब ज्यादै न्यून, महङ्गीमा जीवन धान्न मुस्किल, यस कारण नेपाली विद्यार्थी स्वदेश अडिन नसकेको हो ।”
विद्यार्थीलाई स्कुलस्तरको पढाईपछि भविष्यमा कुन क्षेत्रमा जाने हो, त्यही विषय पढ्न पाउने छुट र अवसर नभएको बताइन । उच्च शिक्षाको नाममा जीवनभर पढ्नुपर्छ भन्ने छैन, तर नेपालमा जुनसुकै क्षेत्रमा काम गर्दा विद्यावारिधि, एमफिल गरेका यत्ति वर्षको अनुभव भएका भन्दै ओभर क्वालिफाइड जनशक्तिको माग गर्ने अव्यावहारिक मापदण्डका कारण चाहेर, नचाहेर व्याचलर, मास्टर, एमफिल र पिएचडी गर्नैपर्ने बाध्यात्मक स्थितिले पनि नेपाली विद्यार्थी स्वदेशमा पढेर समय वर्वाद गर्न नचाहेको उनको भनाई छ ।
स्रोत र साधन कम भएको हाम्रो जस्तो देशमा निर्वाचनमुखि बजेट र कुराको बुद्ध दर्शन पढाउने विश्वविद्यालयले गणितको डिग्री पनि दिने गरेको उल्लेख गर्दै सम्बन्धित विषयमै उच्च शिक्षा दिने कोसिस गर्न सकिए मात्रै राम्रो हुने बताइन ।
यसैगरी नेपालको उच्च शिक्षा अनुसन्धान गर्ने, नयाँ कुराको बारेमा तथ्य, तथ्याङ्कसहित खोजबिन गरेर समुदाय, व्यक्ति, परिवार, राष्ट्रको विकासका लागि योगदान पु¥याउन नभई नामको अगाडि डाक्टर थप्न मात्र पढ्ने वातावरण रहेको उनको भनाई छ ।
पूर्व शिक्षा मन्त्री श्रेष्ठले निजि क्षेत्रको लगानीमा खुलेका शिक्षालयहरूले शिक्षामा नाफा कमाउने कोसिस गर्न नहुनेमा जोड् दिइन । उनले सरकारीको भौतिक अवस्था नाजुक छ भन्दैमा सेवा, सुविधा राम्रो दिएको नाममा शिक्षालाई महङ्गो बनाइएको, तर बजारमा जाँदा रोजगारीको अभावले पनि नेपाली विद्यार्थी बाहिर जान बढि मन गरेको हुनसक्ने बताइन । निजि क्षेत्रले शिक्षामा लगानी गरेका छन्, गर्नुपनि पर्छ तर नाफा कमाउने उदेश्य राख्न नहुने उनको भनाई छ ।
“म चाहि उच्च शिक्षाको अवस्था सुधार्न भौतिक संरचनामा भन्दा पनि पहिले प्राध्यापकलाई राम्रो तलबको व्यवस्था हुनुपर्छ भन्छु । उच्च शिक्षा पढाउने प्राध्यापकको तलब ज्यादै न्यून छ, कमाउनकै लागि दसतिर दौडादौड गर्नुपरेपछि प्राध्यापकले आफूले पनि अनुसन्धान गर्ने समय हुन्न र आफूले पढाएका विद्यार्थीलाई अनुसन्धान गर्न प्रेरित गर्ने गाइड गर्ने समय नै नपाएपछि पढाईको गुणस्तर त खस्किनै भयो । साथै विश्वविद्यालयमा राजनीतिक चलखेल पनि बढि नै भएको हो” उनले भनिन् ।
श्रेष्ठले नेपाललाई मेडिकल शिक्षाको हब बनाउने सपना पनि बाँड्ने गरेको तर, यहाँको सम्भावनाको अनुसन्धान नगरिएको बताइन । रोजगारीमा पिएचडी, एमफिल गरेको, यत्ति वर्षको अनुभव भन्ने शब्द राखेर मानिसलाई जसरी नि विद्यावारिधि गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएकोले परिणाममुखी, गहिरो अध्ययन गर्ने अवसर नभएको बताइन ।



