काठमाडौँ /२६ साउन – माओवादी केन्द्रका सांसद तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा भइरहेको गतिविधिबारे कुलपतिलाई बुझाउन उपकुलपति, रजिस्टरहरूले भेट्न खोज्दा समेत ६/६ महिनासम्म पनि समय नपाउने गरेको बताउँदै नेपालका विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति हुने नियम बदल्नुपर्ने बताएका छन् ।
खबर एजुकेशनको आयोजना र लिबर्टी कलेजको सहयोगमा उच्च शिक्षामा तत्काल देखिएका समस्या समाधानका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
उनले देशको प्रधानमन्त्रीले हेर्नुपर्ने थुप्रै क्षेत्र र काम रहेकोले विश्वविद्यालयको व्यवस्थापन लगायत अन्य सुधारका लागि सोच्ने समय समेत उल्लेख गर्दै विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति हुने नियम बदल्नुपर्ने बताए । साथै बौद्धिक र स्वतन्त्र व्यक्तिहरूलाई खुला प्रतिस्पर्धाबाट कुलपति, उपकुलपति, रजिस्टरलगायतका पदाधिकारी छनौट गर्ने नीति नबनेसम्म नेपालका विश्वविद्यालयहरूको सुधारका कार्यक्रम अगाडि बढ्न नसक्ने उनको भनाई छ ।
उनले भने “कुलपति प्रधानमन्त्री हुने नीतिले प्रधानमन्त्री फेरिने बित्तिकै दलीय भागबन्डा गर्न थालिहाल्ने कारणले विश्वविद्यालयका पदाधिकारी फेर्ने प्रवृत्ति छ । सबैले एकैपटक अवसर त पाउँदैनन् । अर्को पक्षले ताला लगाउने, हडताल गर्ने नियतिमा नेपालको उच्च शिक्षा बिग्रेको हो । विश्वविद्यालयहरू पठन/पाठन गर्ने ठाउँ हो, झगडा गरेर बस्ने ठाउँ होइन ।”
पौडेलले विश्वविद्यालयको अवस्थाले नेपाली विद्यार्थी आशावादी नभएको बताए । निजी लगानीका शिक्षालयलाई अनेक बहानामा लखेट्ने र सरकारीले नपढाउने भएपछि नेपाली विद्यार्थीमा निराशा छाएको उनको भनाई छ ।
यसैगरी हरेक क्याम्पसमा प्राविधिक विषयमा उच्च शिक्षा पढाउनुपर्ने, यहाँ यो यो विषयको अध्ययन हुन्छ भनेर परामर्श दिनुपर्ने, पढाई सेकपछि यो यो क्षेत्रमा काम गर्न सक्छौ भनेर बुझाउन पनि आवश्यक रहेको बताए ।
आजको २१ औं शताब्दीमा पुरानै शैलीका पाठ्यक्रम, अध्यापन शैली, खराब भौतिक संरचनामा विद्यार्थी पढ्न नचाहेको पौडेलले दाबी गरे । ” ४५ वर्ष पहिले म उच्च शिक्षा पढ्न त्रिचन्द्र क्याम्पसमा आएको थिएँ । त्यत्ति बेलाकै भौतिक संरचना छन् अहिले पनि त्यहाँ । भत्किएका ट्वाईलेट, टालिएका भवन छन् । त्यस्तो अवस्थामा नयाँ पुस्तालाई यहाँका पुराना ढाँचाका क्याम्पस, विश्वविद्यालयले आकर्षित गर्न सक्दैन ।”
विश्वविद्यालयको भौतिक संरचनादेखि समय र बजारको माग अनुसारका विषयहरू आईटी, मेडिकल साइन्सका पाठ्यक्रमहरू राख्न आवश्यक रहेको बताए । श्रम बजारमा आईटी र मेडिकल साइन्स पढेका जनशक्तिको माग रहेको बताउँदै दलीय भागबन्डा र झगडाबिच नेपालमा विद्यार्थीले अध्ययन गर्न नचाहेकोले समय अनुसार विश्वविद्यालय परिमार्जन गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेपालको उच्च शिक्षा राम्रो बनाउन उच्च शिक्षा ऐन, ल्याएर विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रचलनको अन्त्य हुनुपर्ने बताउँदै बौद्धिक व्यक्तित्वहरूलाई खुला प्रतिस्पर्धा मार्फत विश्वविद्यालयमा भित्र्याउनु पर्नेमा जोड् दिए ।



