काठमाडौँ /२७ साउन – संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति यादवप्रसाद लामिछानेले नेपालको उच्चशिक्षामा खराब राजनीतिले समस्या पारेको बताएका छन् । शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरेर त्यसको पूर्ण कार्यान्वयन समेत गर्नुपर्ने बताउँदै विश्वविद्यालयलाई राजनीति मुक्त बनाउनुपर्ने उनको सुझाब छ ।
खबर एजुकेशनको आयोजना तथा लिबर्टी कलेजको सहयोमा उच्च शिक्षामा तत्काल देखिएका समस्या समाधानका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञान दिने ठाउँ विश्वविद्यालयमा राजनीति बढि भएकै कारणले केही गर्छु भनेर योजना बनाएर गएका व्यक्तिलाई योजना अनुसार काम गर्न नदिने अवस्था रहेको बताए । जबसम्म राजनीति प्रतिबद्धता हुँदैन तबसम्म विश्वविद्यालयमा सुधार गर्न कठिन रहेको उनको भनाई छ ।
उनले आफू प्राध्यापक संगठनको नेतृत्व ७ वर्ष गरेको बताउँदै प्राध्यापक संगठनको तर्फबाट विश्वविद्यालयको शैक्षिक क्रियाकलापमा अवरोध हुने गरी कहिलै पनि तालाबन्दी गर्ने वा विद्यार्थी उचाल्ने काम नगरेको दाबी गरे ।
यसैगरी विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरूले अध्ययन, अनुसन्धानमा ध्यान दिनुपर्नेमा जोड् दिँदै शिक्षामा बजेट कति निर्धारण गरियो र त्यसमा पनि अनुसन्धानमा कति बजेट छ भनने विषय महत्वपूर्ण रहेको बताए ।
उनले भने “त्यसका लागि बजेट पनि चाहिन्छ, बजेटको अभावले गर्दा नेपालका पढेलेखेका बौद्धिक वर्गहरूले अनुसन्धान गर्न पाएका छैनन् । यस्तो हुनु देशका लागि घाटाको काम हो । विद्यार्थीहरूलाई राष्ट्रप्रेमको भावना जागृत गर्न सक्नुपर्छ, यसका लागि पढाउने प्राध्यापक, देशका नीतिमार्फत पनि प्रेरित गर्नुप¥यो । हाल विश्वविद्यालयमा विद्यार्थी तथा प्राध्यापकहरूले गरेका अनुसन्धानहरू कुन कुन क्षेत्रमा काम लाग्छ भन्ने कुरा हेरिएको छैन । अनुसन्धानमा ठेलीहरू थन्किएर बसेका छन् । त्यसको प्रकाशन गर्न सके देशका लागि काम लाग्ने तथ्यहरू बजारमा आउन सक्छन् ।”
साथै नेपालका विश्वविद्यालयबाट उत्पादन भएका जनशक्ति कमजोर नरहेको बताउँदै विश्वको जुनसुकै मुलुकमा गएर नेपाली विद्यार्थीले प्रतिस्पर्धा गर्दा राम्रो अङ्क ल्याएर छात्रवृत्तिमा पढेको थुप्रै उदाहरण रहेको उल्लेख गरे ।



