काठमाडौँ /१३ साउन – नेपाल स्थित विभिन्न देशका विदेशी राजदूतहरूले विदेश अध्ययनमा जाने विद्यार्थीहरू नेपालमा रहेका शैक्षिक परामर्श संस्थाका कारणले दुःख पाउने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गुनासो गर्ने गरेका छन् ।
विदेशी विद्यार्थीहरूको हकमा आफूहरूको देशको शिक्षा नीति तथा विश्वविद्यालयहरूको नीति प्रस्ट र राम्रो भएपनि शैक्षिक परामर्श संस्थाहरूले गलत जानकारी दिएर विद्यार्थी पठाउँदा समस्या पर्ने गरेको गुनासो मन्त्रालयसँग गर्ने गरेको स्रोतको भनाई छ ।
खबर एजुकेशनसँगको कुराकानीमा स्रोतले भन्यो “शिक्षा मन्त्रीसँगको भेटघाटमा नेपाल स्थित विदेशी राजदूतहरूले शैक्षिक परामर्श संस्थाका कारण विद्यार्थी ठगिएँका हुन् भन्नु हुन्छ । शैक्षिक परामर्श संस्थाले बुझाउन नसक्दा, परामर्श संस्थालाई विदेशी विश्वविद्यालय र शिक्षाका बारेमा राम्रो ज्ञान नहुँदा ठगिए । विद्यार्थीलाई देशबाटै ठगिन्छ, विदेश गएपछि दुःख पाए भनेर हामीलाई आरोप नलगाउनुहोस भनेर आग्रह गर्नु हुन्छ ।”
स्रोतले सङ्घीय सरकारले समयमै नविकरण, अनुगमन, नयाँ दर्ता लगायतका विषयमा निर्णय नगर्दा शैक्षिक परामर्श क्षेत्रमा समस्या आएको बतायो । साथै प्रदेशले पनि दर्ता गरिदिने गर्दा यो क्षेत्र झन अन्योलमा रहेको भनाई छ ।
त्यसैगरी आगामी दिनमा यसबारे निकास निकालेर शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउने तर्फ सरकार अगाडी बढिरहेको र दर्ता भई सकेका तर नविकरणमा नआएका शैक्षिक परामर्श संस्थाहरूलाई अन्तिम पटक दर्ताको अवसर दिएर बन्द गर्नुपर्ने विषयमा छलफल भएको स्रोतले बतायो ।



