काठमाडौं/१३ साउन – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रम कार्यन्वयन कार्यविधि सार्वजनिक गरेको छ । स्विकृत वार्षिक कार्यक्रम तथा वजेट कार्यान्वयनलाई व्यवस्थित गर्न कार्यविधि सार्वजनिक गरेको हो ।
कार्यविधिले मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत सञ्चालनमा रहेका १७ वटा निकाय र मन्त्रालयका सात वटा महाशाखाबाट चालु आर्थिक वर्षमा सञ्चालन गरिने स्वीकृत वार्षिक कार्यक्रमलाई अपेक्षित मर्म, निर्धारित प्रक्रिया र प्रक्षेपित नतिजा सुचक अनूरूप कार्यान्वयन गर्न औपचारीक मार्गनिर्देशन उपलब्ध गराउने उदेश्य राखेको छ ।
कार्यविधिमा विद्यमान शिक्षा नीतिले सबै बालबालिकालाई प्रारम्भिक बालशिक्षाको अनुभवसहित आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक शिक्षामा निःशुल्क पहुँच सुनिश्चित गरी शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक सिप विकासमा समावेशी र समतामूलक पहुँच विस्तार र गुणस्तर सुनिश्चित गर्ने अभिप्राय राखेको उल्लेख छ ।
त्यसैगरी शिक्षा नीतिले पहुँच र गुणस्तर अभिवृद्धि गरी उच्च शिक्षालाई वैज्ञानिक, नवप्रवर्तनात्मक, अनुसन्धानात्मक, प्रविधिमैत्री र रोजगारमूलक बनाउँदै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण गर्ने र सबै नागरिकका लागि जीवनपर्यन्त शिक्षाको अवसर सुनिश्चित गरी सङ्घीय संरचना अनुरूप सबै तहका शैक्षिक, प्रशासनिक निकाय र शिक्षण संस्थामा सुशासन कायम गर्ने उद्देश्य लिएको जनाइएको छ ।
मन्त्रालयले नेपालको संविधानले सुनिश्चित गरेको शिक्षा प्राप्त गर्ने नागरिकको अधिकार, शिक्षा ऐन तथा नियमावली, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन तथा नियमावली, विद्यालय शिक्षा क्षेत्र योजना, सोह्रौं योजना, विज्ञान तथा नवप्रवर्तन नीति, राष्ट्रिय शिक्षा नीति, दिगो विकास लक्ष्यहरू, अन्तर्राष्ट्रिय सन्धी सम्झौता तथा प्रतिवद्धता एवम् नेपाल सरकारले शिक्षा र विज्ञान तथा प्रविधि क्षेत्रमा लिएका नीति तथा प्राथमिकताको मार्गदर्शनमा रही शिक्षा र विज्ञान तथा प्रविधि क्षेत्रमा विभिन्न कार्यक्रमहरू तयार गरी कार्यान्वयन गर्दै आएको जनाएको छ ।
यो कार्यक्रम कार्यान्वयन कार्यविधि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, राष्ट्रिय किताबखाना (शिक्षक), केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, केशर पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय, राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय, वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय, शिक्षक सेवा आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालय अनुदान आयोगबाट सञ्चालन गरिने कार्यक्रमहरूका सम्बन्धमा लागु हुनेछ ।



