सहमति भईसक्यो अब शिक्षा विधेयक अगाडी बढ्छ, सकेसम्म १९ गते पेस गर्छौ : सभापति

काठमाडौँ /१२ साउन – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले सरोकारवाला र सरकारका कारण रोकिएको विधेयक अगाडी बढ्ने बताएका छन् ।


साउन ११ गते शिक्षामन्त्री, प्रमुख दलका सचेतकहरू, शिक्षा समितिका सभापति र शिक्षक महासङ्घ सहित बसेर विधेयक अगाडी बढाउने सहमति भएको जानकारी दिँदै अब संसदमा पेस गर्ने गरी अगाडी बढाउने बताएका हुन् ।


उनले समितिको आफ्नो अडान यथावत् नै रहेको, आफ्नो अडानमा विधेयकलाई अगाडी बढाउने प्रतिबद्धता जाहेर गरिसकेको उल्लेख गर्दै मन्त्रालयबाट सहमति सहितको पत्र आएकोले विधेयक यथास्थितिमै अगाडी बढाइने खबर एजुकेशनलाई जानकारी दिए ।


उनले भने “जति पनि असहमति थिए त्यसमा सहमति भएर मन्त्रालयबाट पत्र आईसकेको छ । ६०/४० को विषयमा सहमति भएपनि आवधिक बढुवाको सवालमा असहमति हुँदा विधेयक रोकिएको थियो । तर अहिले आएर त्यसमा पनि सहमति भईसकेको छ । अब ऐन ल्याउने सवालमा कुनै हालतमा रोकिदैन । संसदमा पेस हुन्छ ।”


थापाले पेस गर्ने मिति अहिलेनै तय नभएपनि ७५ प्रतिशत प्रतिवेदन बनाउने काम सकिएकोले साउन १३ र १४ गते बस्ने समितिको बैठकले तय गर्ने प्रस्ट पारे । केही मात्रामा मात्रै प्रतिवेदन मिलाउन बाँकी रहेको बताउँदै उनले भने “यदी तत्काल बैठक बस्न सकियो भने १५ गतेसम्म प्रतिवेदन तयार गरेर सक्छौँ । १५ गते प्रतिवेदन वितरण गर्ने काम हुन्छ । १६ र १७ गते अध्ययनका लागि दिन्छौँ । त्यसपछि १८ गते पूर्ण रूपमा प्रतिवेदन तयार गरेर १९ गते पेस गर्न सकिने मेरो योजना छ । तर समितिका सदस्यहरू बाहिर भएकोले यसको अपनत्व लिन आउन भनेको छु । कोरम पुग्यो भने १९ गते प्रतिवेदन पेस हुन्छ ।”