काठमाडौँ /९ जेठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सत्तापक्ष, शिक्षक महासङ्घ, सरोकारवालाहरूसँग छलफल गर्नुपर्ने अवस्था आएको भन्दै एक हप्तका लागि समय मागेपछि शिक्षा समितिको बैठक केही दिनलाई रोकिएको छ । उपसमितिले ४५ दिन लगाएर बनाएको प्रतिवेदन पेस गरिसकेको अवस्थामा फुल समितिमा छलफल सुरु भएपछि मन्त्री पन्तले समितसँग समय माग गरेको हुन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले शिक्षा मन्त्रीले शिक्षकहरू, सरोकारवालाहरू र सत्तापक्ष दलसँग छलफल गर्नुपर्ने अवस्था आयो भन्दै छलफलका लागि एक हप्ता समय चाहियो भनेपछि तीन दिन भित्र सबै कुरा टुङ्ग्याएर एउटा धारणा बनाएर ल्याउन केही दिनलाई समितिको बैठक रोकिएको बताए ।
साथै विवादित विषय भनिएको इसिडी र गुठीको विषयमा सहमति गराउन सरकारलाई समय दिइएको सभापति थापाको भनाई छ । ‘समितिले शिक्षकहरूसँग भएका सहमति के के हुन, के कुरामा सहमति भएको थियो, प्रतिवेदनमा कुन कुन कुरा समावेश गरिएको छ त्यो विषय मन्त्रालयको तर्फबाट उपलब्ध गराउन भनिएको छ’ उनले भने ।
यसैगरी १४ गतेसम्म सदन नभएकोले त्यही समयमा छलफल गर्ने तयारी भएपनि शिक्षा मन्त्रीले समय मागेका कारण रोकिएको बताए । उनले भने ‘उपसमितिले ४५ दिन लगाएर बनाएको प्रतिवेदन पेस गरिसकेको अवस्था छ । त्यो उपसमितिको बैठकमा करिब करिब सबै बैठकमा म पनि बसेको छु । त्यसपछि फुल समितिमा छलफल सुरु गरिसकिएको छ । निरन्तर छलफल गरेर बजेट आउनु भन्दा अगाडी सबै नसकेपनि एउटा निचोड निकाल्ने भन्ने थियो । १४ गतेसम्म सदन नभएकोले त्यही समयमा छलफल गर्ने तयारीमा रहेका थियो । तर शिक्षा मन्त्रीले समय मागेपछि तीन दिनलाई समय उपलब्ध गराइएको छ ।’



