काठमाडौँ /११ जेठ – के सामुदायिक विद्यालयमा कर्मचारी आवश्यक नभएकै हो त ? यदि हो भने सदैव बजेट अभाव किन ? किनभने पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ र निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईको भनाईलाई सापटी लिदाको एक दृश्य काफी छ । यसलाई स्मरण गरौँ । यो सँगै विद्यालय कर्मचारीको इतिहासलाई फर्केर हेर्न आवश्यक छ । राज्यले गरेको व्यवहार, विगतमा भएका सहमति, अदालतको निर्देशन र शिक्षक विद्यालय कर्मचारीबिचको विभेदले यसलाई बुझाउन धेरै बोल्नुपर्छ जस्तो लाग्दैन । हुन्छ पनि भन्ने व्यवहारमा केही पनि नगर्ने सरकारको रबैया प्रति अब आम विद्यालय कर्मचारी एक जुट हुनुको विकल्प छैन । होइन भने खुद्रा पसलको कारोबारको अर्थ कति दिन चल्छ ? यो त व्यापारमा व्यवसायी नभएर निर्वाहमुखी भैदिन्छ कि ? उत्पादनको हिसाबले राष्ट्रिय पूँजी नभई राष्ट्र पूँजीको सूचिमा रहन्छ कि ?
हाम्रो प्यारो देश नेपाल विश्वका थुप्रै मुलुक मध्यको एक सुन्दर, शान्त स्वर्गकै अनुपम उपहारका रूपमा रहेको देश हो । यहाँ बसोबास गर्ने अधिकांश नागरिक स्वावलम्बी र आत्मनिर्भर अनि स्वाभिमानी भएकै कारण विश्वव्यापी रूपमा शारीरिक र बौद्धिक श्रमिकको रूपमा समेत श्रमको अवसर प्राप्त भईरहेको छ ।
शिक्षा जगतमा भन्ने हो भने विश्वका अन्य मुलुक भन्दा केही पछि मात्रै औपचारिक शिक्षाको विकास भएको पाइन्छ । तथापि सार्वजनिक शिक्षालाई कसरी गुणस्तरीय, प्रभावकारी एवम् व्यवस्थित र विश्व बजारमा बिक्न र टिक्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने हेतुले पहिला पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भेला र सेमिनार एवम् गोष्ठीहरू पनि भएकै हुन । यद्यपि उपलब्धिका विषयमा प्रश्न चिह्न खडा भएको छ, तर हिलो छ्याप्ने संस्कारले स्थान भने लिएकै छ ।
बि.सं. २०११, २०१७, २०१९,२०२२,२०२४,२०२६ सालमा समेत विभिन्न समयमा छलफल र बहस गर्नुका साथै शाही उच्चस्तरीय आयोग, उच्चस्तरीय आयोगको नामले समेत थुप्रै पटक सरकार समक्ष सिफारिस बुझाएको पाइन्छ तथापि परिवर्तन र उपलब्धि के भन्ने विषयमा सर्वत्र प्रश्न उठ्ने गरेको पनि त छ नि ?
केवल भत्ता पचाउनु र डलर भजाउनुका र एक थान फोटो पठाउनु मात्र शैक्षिक सम्मेलन हो त ? बि.सं. २००७ सम्म कूल २५ नेपाली साक्षर भएको सर्वविदितै छ, त्यो पनि राणा, राजा महाराजा भाइ भारदार र दरबारियाहरूका कुल खान्दान र इष्टमित्रहरू मात्र भएको पनि तितो सत्य हामीले पढेकै छौँ । शिक्षा सबैका लागि हुनुपर्छ, शिक्षा नागरिकको घर दैलोमा र्पुयाउनु पर्छ भन्ने तत्कालीन समयको प्रमुख माग थियो भने पछिल्लो समयमा वैदेशिक शिक्षा नीति र डलरको खेतीपाती गर्नेहरूले नै शिक्षा नीतिमा विदेशी चलखेल राम्रै भएको एक अध्ययनले प्रमाणित गरेको छ । बिस्तारै नारी शिक्षा र सशक्तीकरणका आवाजले बजार तताउने काम नभएको पनि होइन टोलटोलमा संस्थागत विद्यालयको अवधारणा पनि ह्वात्तै बढको पाइन्छ भने जसले साक्षर दर सङ्ख्यात्मक रूपमा बृद्धि गरेको छ ।
सामुदायिक विद्यालयको विस्तार, विकास र व्यवस्थापनको तहमा देखिदै आएका थुप्रो कमीकमजोरीका कारकका रूपमा मुलुकका माननीयहरू मन्त्रीहरू र समग्रमा सरकारका र सरकारका प्रतिनिधिहरू भएको सर्वोच्च अदालतको फैसला समेत कार्यान्वयन नहुनुले घाम जतिकै छर्लङ्ग भएको छ । सम्मानित सर्वोच्चले गरेका आदेश र परमादेश समेत कार्यान्वयन नहुनले विद्यालय कर्मचारीहरू थप अन्यायमा परेका छन् । सार्वजनिक शिक्षा सुधारका नाममा तबल, भत्ता र सुविधा लिने तर व्यवस्थापन प्रति गैरजिम्मेवार बन्ने, गैरअभिव्यक्ति दिने गरेको समेत पनि यदाकदा पाइन्छ ।
कि संविधानले मान्ने, ऐनले चिन्ने र अर्थले धान्ने काम मात्र गर्छौ हामी भनेर आफू उम्कनेहरूको ताती छ । नेपालमा फिल्डमा शैक्षिक गुणस्तर प्रमुख जिम्मेवारी हो भनेर भन्नेहरूको मुखमा माकाहरूको गाँड लगाउने, अनि आफूहरू ५ तारे होटेल रात बिताउनेहरूको पनि कमी छैन । लाजलाई पनि लाज लाग्ने कुरा के छ भन्दा पानी पनि नेपालको नखानेहरू नेपाली शिक्षा सुधारक रे ? तसर्थ यस्ता गतिविधिहरूलाई राज्यले नियमन गर्दै शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी र अभिभावकलाई शैक्षिक सुधारको मूलधारमा अगाडी ल्याउन आवश्यक छ । तर, यसको ठिक उल्टो सार्वजनिक शिक्षा धराशायी गराउने परिस्थिति स्वयम् राज्यले गरेको छ, विदेशीको नाचमा नाच्दै आएको विभिन्न घटनाक्रमबाट साबित भइरहेको छ ।
वैज्ञानिक शिक्षा ऐन २०२८ ले शिक्षामा आमूल परिवर्तन गर्ने तत्कालीन समयमा सरकार र सरोकारवाला निकाय एवम् आम शिक्षक, कर्मचारी र विद्यार्थी एवम् अभिभावकहरूको बुझाईलाई परनिर्भर सरकार, अस्थिरता राजनीतिक व्यवस्था र आर्थिक सामाजिक चेतनाको दुरुपयोगका कारण शिक्षा ऐन २०२८ लाई १० औँ पटकसम्म टालो टाल्दा टाल्दा कपडाको आकार र प्रकार कस्तो थियो, भनेर घोत्लिनु पर्ने परिस्थिति समेत निम्तिएको हो ।
यो सँगै जोडिएर आएको विषय सम्पूर्ण सामुदायिक विद्यालयहरूमा शिक्षक र कर्मचारी एकै खालको सेवा आयोगबाट नियुक्त भएका तर सेवा सुविधामा विभेद किन भयो त ? कसरी भयो ? कसका कारणले भयो ? किन विद्यालय कर्मचारीहरूको आवश्यकता महसुस हुँदा हुँदै पनि सेवा सुविधामा सौतेलो व्यवहार गरियो । राज्य, शिक्षक, स्थानीय तह र सरोकारवालाहरूले के बुझ्न आवश्यक छ भने सियोको काम साबेलले हुँदैन, कैँचीको काम बन्चरोले पनि गर्दैन होला ? सबैको भूमिका फरक फरक हुनसक्छ ।
अर्को तर्फ नेपालमा विकास हुँदै आएको आन्दोलन पश्चात् उपलब्धिलाई संस्थागत गर्ने र थप उपलब्धिका लागि एक जुट हुनुपर्ने बेलामा, एकीकृत हुनुपर्ने ठाउँमा, एक स्वर बोल्नु पर्ने बेलामा एक आपसमा दोषारोपण गरेर, दम्भ र घमन्ड देखाउँदै टुक्रिएर भेटघाट छलफल र सहभागी हुने क्रममा आजको अवस्थामा विद्यालय कर्मचारी पुग्नुमा दोषी तत्कालीन शिक्षक नेतृत्व र कर्मचारी नेतृत्व नै हुन ।
शिक्षा ऐन २०२८ को दफा १६ को (ठ) मा सार्वजनिक विद्यालयमा विद्यालय कर्मचारी दरबन्दी रहने छ भनिएको थियो र सोही बमोजिम दरबन्दी पनि सिर्जना भई काठमाडौँ , ललितपुर, भक्तपुर, चितवन, सुनसरी, मोरङ, झापा, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला , कञ्चनपुर, डोटी, कास्की, लमजुङ, लगायतका जिल्ला अन्तर्गतका सामुदायिक विद्यालयहरूमा मुखिया, खरिदार, प्रशासन सहायक, लेखापाल र लाइब्रेरियन, पियन, परिचर, माली भण्डारे तथा लाइब्रेरियन टाइपराइटर आदि दरबन्दी रहेको र समयानुकूल सेवा सुविधा समेत पाउँदै आएको सम्पूर्ण जिल्ला शिक्षा कार्यालयको अभिलेखबाट प्रस्ट हुन्छ । सार्वजनिक विद्यालयहरूमा दरबन्दी रहेको र कर्मचारीको नियुक्ति समेत वैधानिक तवरले कानुन साम्बत ढङ्गबाट भएको पाइन्छ ।
तर पेन्सन, औषधी उपचार खर्च, बिरामी बिदा बापतको रकम लगायतको सुविधाका लागि विद्यालय शिक्षक किताबखानामा पुगे पछि बल्ल थाहा भयो कि विद्यालय कर्मचारीलाई यी कुनैपनि सुविधा मिलदैन, किन भने तपाईँको अभिलेखीकरण भएको छैन र तपाईँलाई अन्याय लागेको छ भने कानुनी उपचारको बाटो रोज्न सक्नु हुन्छ, भन्नुको अर्थ विद्यालय कर्मचारीले सम्मानित अदालतको ढोका ढकढक्याउनुको विकल्प नै रहेन । जीवनको ऊर्जावान् समय विद्यालयमा बिताउने, काम गलत गरेको भनेर आत्मग्लानि गर्नुपर्ने अवस्थामा विद्यालय कर्मचारीहरू पुगेको लोकेन्द्र बहादुर चन्द एउटा प्रतिनिधि पात्र हुन भने हजारौँ हजार कर्मचारीमाथि यस्तो खालको अन्याय भएको छ । यसको प्रमुख दोषी राज्य भएको आम विद्यालय कर्मचारीहरूको बुझाई छ ।
बि.सं.२०३७ सालमा शिक्षा ऐन संशोधनको अवसरमा सामुदायिक विद्यालयमा विद्यालय कर्मचारीको दरबन्दी आवश्यक छैन भन्ने आशय तत्कालीन शैक्षिक नेतृत्वले बुझेर मन्त्रालयले आर्थिक व्ययभार बढ्छ, राज्यकोषबाट सेवा सुविधा दिनु हुदैन भन्ने गलत विचारले कर्मचारी विरोधी तत्त्व हाबी हुँदै गयो । प्रतिशोध र पूर्वाग्रहले डेरा जमाउँदै गयो । यो मात्रे होइन विभिन्न शिक्षक संगठनका केही नेताहरूमा आफू नेता भएको घमन्ड चुलिदै गायो र आफ्ना मागहरू पुरा गर्नका लागि विद्यालय कर्मचारीहरूका मागलाई दाउँ लगाउँदै राज्यसँग बार्गेनिङ गर्ने काम गरे । विद्यालय कर्मचारी इतिहासमा नेपाल राष्ट्रिय शिक्षक संगठनमा रहेको र संगठन भित्रको फुटको श्रृङखलाले अन्योल सिर्जना हुँदै गएपछि अहिले यो अवस्थामा आएको छ ।
प्रावि तहको शिक्षकहरूको संगठनको निकट हुने वा मावि तहका शिक्षक संगठन निकट हुने भन्ने विषयको टुङ्गोमा नपुग्दै राजनीतिक व्यवस्था परिवर्तनको आधारमा शिक्षक संगठनहरू धमाधम खोलिदै गए । यो अवस्थामा विद्यालय कर्मचारीहरूलाई आफ्नै छुट्टै संगठनको अभाव खड्कदै गयो र नेपाल विद्यालय कर्मचारी परिषद् स्थापना भयो ।
बि.सं.२०४७/०१/०४ गतेका दिन तत्कालीन प्रम स्व.कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित सरकारले एक शैक्षिक सत्र पूरा गरेका शिक्षकहरूलाई स्वतः स्थायी गरेको अवसरमा विद्यालय कर्मचारीलाई कसैले देखेन अन्तत ः नेपाल शिक्षक संघका तत्कालीन नेतृत्वको निर्देशनमा र शिक्षकहरूको स्वत: स्थायी भएको घटनाको उत्प्रेरणाले विद्यालय कर्मचारी परिषद्को बि.सं २०४७ र ११ र २६ का दिन संघ संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम काठमाडौँ जिल्ला प्रशासन कार्यालयको द.नं. ३४० मा दर्ता भई साविकका ७५ ओटै जिल्लाहरूमा संगठन बिस्तार गरि विद्यालय कर्मचारीहरूका विभिन्न माग मुद्दालाई बुलन्द पार्दै आएको छ । यसैगरी मुलुकको वयवस्था परिवर्तनसँगै २०७९/५/३० गते नेपाल सरकारको श्रम मन्त्रालय अन्तर्गतको ट्रेड युनियनमा आवद्ध भई दर्ता ५३८ बमोजिम नेपालको संविधानको धारा ३४ को उपधारा २ अनुसार सामाजिक सौदाबाजिको अधिकार सहित क श्रेणीको संस्था दर्ता भई सांगठिनक गतिविधि गर्दै आएको छ । साथै तत्काल इआईमा पनि आवद्ध भएर आफ्ना कार्यहरुलाई अगाडी बढाएको छ ।
बि.सं. २०४० सालमा पहिलो पटक तत्कालीन सरकार प्रमुख र शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेकामा शिक्षक नेतृत्वले तपाईहरूको काम हुन्छ तपाईँ विद्यालयमा गएर काम गर्नु यताको सबै हामी गरि हाल्छौ भनेर कर्मचारी नेतृत्वलाई कार्यस्थलमा पठाएका थिए । शिक्षा नियमावली संशोधनमा समेत कर्मचारी विरोधी गतिविधि गरेको प्रमाण भनेकै नियमावलीमा समेत विद्यालय कर्मचारी शब्दावली हटाउने काम गरेकाले तत्कालै विद्यालय कर्मचारीका नेतृत्वहरूले समीक्षा गरेको बेला सरकारले विद्यालय कर्मचारीलाई शिक्षकको पदमा स्थानान्तरण गरेको हो । कर्मचारीहरूलाई रानी मौरी हराएको झै नेतृत्वको नितान्त खाँचो भईरहेको र बहाल कर्मचारी नेतृत्व आफ्नो व्यक्तिगत स्वार्थ सिद्दताका लागि आम विद्यालय कर्मचारीहरू माथि ठुलो धोका भएका हो ।
बि.सं. २०५५ साल तिर आएर विद्यालय कर्मचारीहरूमा नेतृत्व छनौटको परिस्थिति निर्माण भएको हो भने उक्त नेतृत्वमा पनि ऐन, नियमावलीको बाधा देखाउदै तर्साउने काम राज्यले गरेको पाइन्छ । शैक्षिक नेतृत्वले कार्यालय सहयोगीहरूलाई दलाउन र कजाउनका लागि पेसागत स्थायित्व र सेवा, सुविधा जन्य गतिविधिमा उल्लेख्य साथ समर्थन नगरेको थुप्रै प्रमाणले पुष्टि हुन्छ । विद्यालयको अभिलेख राख्ने, हर हिसाब चुस्त दुरुस्त र पारदर्शी गर्ने, विद्यालयको पाठ्यपुस्तक, रासन, फर्निचर, ओसारपसार र ढुवानी गर्ने देखि विद्यालय सरसफाइ गर्ने फूलबारी, बगैँचा र नर्सरीमा रेखदेख गर्ने देखि सम्पूर्ण काम गर्ने, विद्यालयका सामग्रीको ढुवानी गर्ने काममा रातदिन नभनिकन विद्यालयको सेवा गर्नेको हाल सङ्घीय लोकतान्त्रिक व्यवस्थामा समेत झनै जटिल बन्दै गएको छ ।
निम्न वर्गको कर्मचारीलाई विद्यालय र नेपाल सरकारले काममा दलाको दलाई छ, जसका कारण थुप्रै लेखापालहरूलाई घरबार सञ्चालनमा असहजता हुनुका साथै विद्यालय र घर परिवारले गरेको गलत व्यवहारका कारण आत्महत्या र आत्मदाह समेत गरेका थुप्रै घटनाहरू छन् ।
जनआन्दोलन २०६२ र २०६३ यता विद्यालय कर्मचारीका माग मुद्दाले माहोल तात्ने काम शिक्षक कर्मचारीबाट भएको छ । मन्त्रालयको तर्फबाट पनि सामुदायिक विद्यालयमा विद्यालय कर्मचारीको आवश्यकता छ भन्ने विषयमा छलफल र बहस हुँदै आएको छ ।
बि.सं. २०६४/ ०८/१८ गतेका दिन तत्कालीन शिक्षा मन्त्रीको नेतृत्वमा आयोजित एक कार्यक्रममा विद्यालय कर्मचारीहरूको स्थायी नियुक्त तत्कालीन सरकारले प्रदान गरेको थियो । तथापि पेन्सन लगायतको सुविधाबाट वञ्चित हुनु परेको छ, अधिकार प्रत्यायोजन मार्फत शिक्षक छनौट समितिबाट नियुक्त कर्मचारी पूर्ण सुविधाबाट वञ्चित हुँदै गएका छन् । विद्यालय सुधार अन्तर्गतको मुख्य पाटो अभिलेख कर्ताको भविष्य नै अन्योल हुँदा कसरी शैक्षिक गुणस्तर अभिवृद्धिको आशा राख्नु उपयुक्त हुन्छ ? यस्ता विषयमा थुप्रै भेला, छलफल र सेमिनार एवम् गोष्ठीको आयोजना हुने गरेता पनि सामुदायिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्न कर्मचारी बिना सम्भव छैन भन्ने निष्कर्ष हो । आर्थिक मितव्ययिताको उपाय अगाडि सारेर प्रअहरूले आर्थिक अधिकार प्रअमा हुने ऐन नियमावलीमा कानुनी प्रावधान रहेको, लेखापाल बिना पनि विद्यालय सञ्चालन गर्न सकिने, कार्यालय सहयोगी थोरै रकममा काम गर्ने पाउन सकिने समेत कुरालाई अघि सारेर विद्यालय कर्मचारीहरूको आवश्यक नहरको झुटो रिपोर्टिङ सरकारलाई गर्ने केही बिचौलियाहरूले गरेको तथा काममा खटिएका विद्यालय कर्मचारीहरूको चरम श्रम शोषण गर्दै आएको प्रति मानव अधिकार आयोगको समेत गम्भीर ध्यानाकर्षण भएको छ ।
२०६५/८/१८ मा जनार्दन नेपालको संयोजकत्वमा गठित टोलिले कर्मचारी दरबन्दी राज्यकोषबाट सम्पूर्ण सेवा सुविधा उपलब्ध हुने गरि राज्यले कर्मचारीको पूर्णरूपमा स्थायित्व हुने गरि व्यवस्थापन गरिनु पर्ने भनिएको भएता पनि हालसम्म विद्यालय कर्मचारी विशुद्ध विद्यालयले राखेको कर्मचारी हो ।
राजनैतिक भर्ती कोटाबाट आएका हुन, राज्यकोषबाट पूर्ण सेवा सुविधा दिन मिल्दैन, ऐन कानुन सम्वत् नियुक्त भएका होइनन, सम्पूर्ण जिम्मेवारी विद्यालयको हो जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने, आन्दोलन पश्चात् सहमति सम्झौता कार्यान्वयन गर्न नमान्ने र पूर्वाग्रही ढङ्गबाट गतिविधि गर्ने गरेकाले पनि विद्यालय कर्मचारीहरूको मनोभावनामा अघात चोट परेको छ ।
यदि यस्तै गर्ने हो र हुने हो भने झिनो अनुदान किन दिने त ? पोसाक किन उपलब्ध गराउने त ? अनावश्यक कर्मचारी सामुदायिक विद्यालयमा किन थुपार्ने र राज्यकोषको दोहन किन गर्ने त ? यस्ता थुपै प्रश्नको उत्तर राज्यले दिने कि नदिने त ? समग्रमा राज्य सञ्चालकहरूमाथि नै प्रश्नचिह्न खडा भएको छ ? अझै भन्नु पर्दा बर्तमान राज्य व्यवस्था प्रति नै प्रश्न चिह्न खडा हुने गरेको छ ।
विद्यार्थी सङ्ख्या र विद्यालय सङ्ख्याको अनुपातमा राहत शिक्षक, अनुदान शिक्षक, नर्स, खेलकुद शिक्षक, आदिको हकमा व्यवस्थापन गर्नु र विद्यालय कर्मचारीलाई मात्र व्यवस्थापन नगर्नुमा विद्यालय कर्मचारी राज्य प्रति थप गुनासो गर्ने दर्बिलो प्रमाणका रूपमा सबै कुरा वादप्रतिवाद गर्न चाहन्छन ।
तसर्थ मिति २०६६ सालमा टेकनारायण पाण्डेको संयोजकत्वमा पुनः विद्यालय कर्मचारी व्यवस्थापन गर्नका लागि टोली गठन भई नेपाल सरकार समक्ष प्रतिवेदन बुझाउँदा पनि कार्यान्वयन तहमा शून्य हुँदा आन्दोलनको आँधीबेरी सिर्जना भएको हो । विद्यालय कर्मचारी परिषद्, शिक्षक युनियन, गणतान्त्रिक मञ्च, मधेसी शिक्षक फोरम, शिक्षा मन्त्री रामचन्द्र कुसवाह, शान्ति मन्त्री रकम चेमजोङ, सङ्घीय मामिला मन्त्री डा।मिनेन्द्र रिजालको बिचमा भएको ऐतिहासिक वार्तामा २०६७/०७/११ देखि सामुदायिक विद्यालयमा अनुदानको सुरुआत गर्ने २०६८ मा पूर्णरूपमा सेवा सुविधा उपलब्ध गराउने र २०६९ साल देखि दुई तहको दरबन्दी लेखापाल र कार्यालय सहयोगी सरहको सेवा सुविधा सहित दरबन्दीमा स्थायी प्रक्रिया सुरु गर्ने भनिएता पनि सो नहुँदा विद्यालय कर्मचारीले आन्दोलनको बाटो रोज्नु बाध्यात्मक परिस्थितिको सिर्जना स्वयम् राज्यले गराएको हो ।
बि.सं. २०७१/१२/१८ मा बुटवलमा प्रथम राष्ट्रिय सम्मेलन मार्फत ऐन कानुनको पक्षमा राज्यलाई ध्यानाकर्षण गराउने लगायतका कार्यक्रमलाई अघि सारेर परिषद् अघि बढेको थियो भने २०७३/०३/१५ मा शिक्षा ऐन २०२८ को आठौँ संशोधन पनि जारी भो, तर मन्त्रालयले नियमावली नै जारी नरेर विद्यालय कर्मचारीलाई हालसम्म पनि सेवा सुविधाबाट वञ्चित गरिरहेको छ ।
२०७५/०४/०७ गतेबाट कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर सुर्खेतबाट सुरु भएको विद्यालय कर्मचारी आन्दोलनले राष्ट्रिय रूप लिदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा आन्दोलन भएको र पोसाक भत्ता र कम्तीमा न्यूनतम श्रम ऐन बापतको रकम सङ्घीय सरकार र स्थानीय सरकारले उपलब्ध गराउदै आएकोमा आ.ब. २०७८/०७९ को बजेटमा सम्पूर्ण राष्ट्रसेवक, शिक्षक कर्मचारीलाई १५५ तलब बृद्धि र रु २००० महँगी बापतको रकम उपलब्ध हुँदै गर्दा विद्यालय कर्मचारीहरूलाई छुट्याउने कार्यले विद्यालय कर्मचारी आन्दोलन २०७९, संयुक्त विद्यालय कर्मचारी आन्दोलन २०८० समेत भएको थियो । सम्झौता सहमति पनि राज्य र विद्यालय कर्मचारी बीच थुप्रै भएका छन, तर सहमति कार्यान्वयन नहुँदाको परिस्थिति भयावह हुन सक्ने सम्भावना दिनानु दिन बढ्दो छ ।
यसलाई शैक्षिक क्रान्तिका रूपमा लैजान आवश्यक छ । तर शिक्षक नेतृत्वबाट सम्भव देखिदैन यसको ताजा घटना र ज्वलन्त उदाहरण नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन २०८१/०८२ र वार्ता तथा छलफल पछिको अवस्थालाई हेरेर बुझ्न सकिन्छ । यसलाई जिकैबाट निहाल्ने हो र व्याख्या विश्लेषण गर्ने हो भने शिक्षक नेतृत्वमा थुप्रै खालका बाध्यताहरू छन, सीमा, परिधिभित्र रहेर गर्नु पर्छ, बोल्नु पर्छ र सबैका कुरा सुन्नु पर्ने बाध्यता छ । साँच्चिकै सार्वजनिक शिक्षामा आमूल परिवर्तन गर्ने हो भने शैक्षिक क्रान्ति गर्ने हो भने समय उपयुक्त नै हो ।
आम शिक्षाकर्मीहरू एक ठाउँमा हुन नितान्त आवश्यक छ । आफ्ना सेवा सुविधा, बृद्धि विकासका लागि विगतमा कर्मचारीलाई छुटाउने काम गरेको, बर्तमान नेतृत्वमा पनि सोही गुणको अंश रहेको तथा महासङ्घ शब्दको पछि कर्मचारी कुद्नुको कुनै तुक नरहेको र सार्वजनिक विद्यालय क्षेत्रमा सबैभन्दा अन्याय परेको वर्ग कर्मचारी हो । यसैबाट फाईदा लिँदै आफ्नो राजनीति गर्नुपर्छ भन्ने केही व्यक्ति र संस्थाको कोरा नारा भएको नेपाली विद्यालय कर्मचारीले प्रस्ट रूपमा बुझेका छन । यसको कानुनी र व्यवहारिक पाटोलाई समेत बुझेर अघि बढ्नु पर्ने वर्तमान कार्यदिशा रहेको आम विद्यालय कर्मचारीको साझा धारण रहेको सम्बन्धित सबैमा जानकारी गरिन्छ ।
सबल, सक्षम र निष्कलङ्कित नेतृत्वको पहिचान राख्नुका साथै पेसागत सेवा सुविधाजन्य गतिविधिमा राज्यसँगको सामाजिक सौदाबाजी गर्न सबै खाले पुरातनवादी सोच, बिचार र संस्कार एवम् राजनीतिक आस्थालाई समेत तिलाञ्जली दिनुपर्ने परिस्थितिको सिर्जना भएको छ । अघि सोची सुखी, पछि बुझि दुखी । चेतना भया ।
शान्ति नाथ योगी, महासचिव, नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति काठमाडौँ नेपाल ।



