झापा/२६ वैशाख – झापाको मेचीनगर–६ मा रहेको सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुलले विद्यालय नेतृत्व विकासको अभ्यास स्वरूप सूर्योदय स्काउट ट्रुप लिडर निर्वाचन २०८२ सम्पन्न गरेको छ ।
स्काउट प्रणालीको मूल मर्म अनुसार छात्र र छात्रा तर्फ एक÷एक जना ट्रुप लिडर निर्वाचित गरिने प्रक्रिया अन्तर्गत सम्पन्न उक्त निर्वाचनमा छात्रातर्फ साइस्ना कोइराला ४३ मतसहित र छात्रतर्फ रिदम निरौला ४० मतसहित निर्वाचित भएका हुन् ।
उम्मेदवारको रूपमा छात्रातर्फ ५ र छात्रतर्फ ४ जनाको सहभागिता रहेको थियो ।
निर्वाचन अधिकृत एस.पी. लुइटेलका अनुसार सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा लोकतान्त्रिक विधिबाट सम्पन्न गरिएको थियो । साथै विद्यालय परिसरमा निर्वाचन केन्द्र निर्माण गरी गोप्य मतदानको व्यवस्था मिलाइएको थियो ।
९१ जना मतदाता मध्ये ८८ जनाले मतदानमा सक्रिय सहभागिता जनाएका थिए, भने १ मत बदर भएको निर्वाचन अधिकृतको आधिकारिकले बताए ।
निर्वाचनको नतिजा सार्वजनिक गरिएसँगै विद्यालयका प्रधानाध्यापक तथा स्काउट प्रमुख शिव मैनालीले नव निर्वाचित ट्रुप लिडरहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै, विद्यार्थी नेतृत्व विकासमा स्काउट कार्यक्रमको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गरे ।
शिक्षा मात्र नभई, नेतृत्व, उत्तरदायित्व र लोकतान्त्रिक चेतनाको विकासका लागि स्काउट कार्यक्रम विद्यालयको विशिष्ट पहिचानको रूपमा स्थापित हुँदै गएको तथ्य यस निर्वाचनले पुनः पुष्टि गरेको मैनालीले बताए ।
स्काउट मास्टर प्रभास सुवेदीको संयोजनमा कार्यक्रम सम्पन्न गरिएको थियो ।



