शिक्षक–कर्मचारी मैत्री ऐन बनाउन अझै कडा दबाब दिन आवश्यक : महासङ्घ

काठमाडौं/२४ बैशाख – नेपाल शिक्षक महासङ्घले उपसमिति /समितिबाट तयार हुने प्रतिवेदनलाई विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री ऐन बनाउन अझै कडा दबाब र कौशलयुक्त पक्षीकरण आवश्यक रहेको उल्लेख गर्दे सबै संगठन एक हुनुपर्ने जनाएको छ ।

विगतका सबै सहमति सम्बोधन गर्ने खालको अग्रगामी ऐन निर्माण हुने र तोकिएको समय तालिकामा काम सम्पन्न भई जारी हुने पक्षमा निरन्तर खबरदारी गरीरहेको जानकारी गराउँदै राहत, साविक उमावि, सिकाइ अनुदान, बालकक्षा, अस्थायी ÷ करार, विशेष शिक्षा, प्राविधिक धार संस्थागत विद्यालय लगायतका सबै खाले शिक्षक र विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासङ्घको तागत, निष्ठा र कार्यनीति माथि विश्वस्त हुँदै यसैमा गोलबन्द भएर सक्रिय रहन अपिल गरेको हो ।

यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत उपसमितिमा छलफल तथा परिमार्जनको प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयकमा हुँदै गरेका प्रबन्ध बारे थरीथरीका सामाचारहरू बाहिरिएको र यस्ता समाचारहरूले सबै खाले शिक्षक र विद्यालय कर्मचारीको मनमा आफ्ना मागमुद्दा के हुँदैछन् ? विगतका सहमतिको अवस्था के छ ? कतै आम शिक्षक–कर्मचारीको भावना र विगतका सहमति माथि षड्यन्त्र त हुँदैछैन ? भन्ने जस्ता कुराहरू आईरहेको अवस्थामा सन्देह पैदा नगर्न आग्रह गरेको छ ।

विगतका सबै सहमति सम्बोधन गर्ने खालको अग्रगामी ऐन निर्माण हुने र तोकिएको समय तालिकामा काम सम्पन्न भई जारी हुने पक्षमा निरन्तर खबरदारी गरीरहेका छौँ । विद्यालयका शिक्षक–कर्मचारीको हकहित माथि हुने कुनै पनि खालका षड्यन्त्रलाई आकार ग्रहण गर्न नदिन तथा सहमति वमोजिमको नयाँ ऐन जारी हुने परिस्थिति निर्माण गर्ने पक्षमा ने. शि. महासङ्घ हिजो जसरी जुटेको थियो आज पनि त्यसरी नै डटीरहेको छ । अहिले हामी समग्र परिस्थितिको वस्तुगत मूल्याङ्कन सहित जिम्मेवारीपूर्वक सक्रिय रहेका छौँ महासङ्घले भनेको छ ।

हेर्नुहोस विज्ञप्ति

ने शि. महासङ्घले भरखरै ८९ दिन लामो आन्दोलन सफल गरी शिक्षक–कर्मचारीका पक्षमा महत्वपूर्ण उपलब्धि प्राप्त गरेको छ । यस आन्दोलनले स्थायी, अस्थायी /करार, राहत, साविक उमावि, सिकाइ अनुदान, बालकक्षा, प्राविधिक धार, विशेष शिक्षा संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीको हक हितको पक्षधरता । भएको एउटा अग्रगामी ऐन जारी हुने आधार भूमि तयार गरी त्यसको मिति समेत सुनिश्चित गरेको छ । यो आन्दोलनको सफलताको श्रेय हामी सबै शिक्षक– कर्मचारी साथीहरूमा अर्पित गर्न चाहान्छौँ ।

विद्यालय शिक्षा विधेयकमा परेका सबै संशोधनहरू अध्ययन गरी विधेयकको परिमार्जन सहितको प्रतिवेदन तयार गर्ने कार्य शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिमा द्रुत गतिमा चलीरहेको छ । उपसमिति / समितिबाट तयार हुने प्रतिवेदनलाई विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री बनाउन अझै कडा दबाब र कौशलयुक्त पक्षीकरण आवश्यक छ । ने.शि. महासङ्घ अहिले यही विषयमा केन्द्रित भएर सक्रियतापूर्वक खटिरहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत उपसमितिमा छलफल तथा परिमार्जनको प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयकमा हुँदै गरेका प्रबन्ध बारे थरीथरीका सामाचारहरू बाहिरिएका छन् । यस्ता समाचारहरूले सबै खाले शिक्षक र विद्यालय कर्मचारीको मनमा आफ्ना मागमुद्दा के हुँदैछन् ? विगतका सहमतिको अवस्था के छ ? कतै आम शिक्षक–कर्मचारीको भावना र विगतका सहमति माथि षड्यन्त्र त हुँदैछैन ? भन्ने जस्ता सन्देह पैदा भइरहेका छन् ।

यो अवस्थालाई मध्यनजर गरी हामी विगतका सबै सहमति सम्बोधन गर्ने खालको अग्रगामी ऐन निर्माण हुने र तोकिएको समय तालिकामा काम सम्पन्न भई जारी हुने पक्षमा निरन्तर खबरदारी गरीरहेका छौँ । विद्यालयका शिक्षक–कर्मचारीको हकहित माथि हुने कुनै पनि खालका षड्यन्त्रलाई आकार ग्रहण गर्न नदिन तथा सहमति वमोजिमको नयाँ ऐन जारी हुने परिस्थिति निर्माण गर्ने पक्षमा ने. शि. महासङ्घ हिजो जसरी जुटेको थियो आज पनि त्यसरी नै डटिरहेको छ ।

अहिले हामी समग्र परिस्थितिको वस्तुगत मूल्याङ्कन सहित जिम्मेवारीपूर्वक सक्रिय रहेका छौं । त्यसैले स्थायी राहत, साविक उमावि, सिकाइ अनुदान, बालकक्षा, अस्थायी / करार, विशेष शिक्षा, प्राविधिक धार संस्थागत विद्यालय लगायतका सबै खाले शिक्षक र विद्यालय कर्मचारीलाई ने. शि. महासङ्घको तागत, निष्ठा र कार्यनीति माथि विश्वस्त हुँदै यसैमा गोलबन्द भएर सक्रिय रहन अपिल गर्दछौँ ।

आन्दोलनलाई सफल र परिणाममुखी बनाउन यसको उठान र बैठानमा सचेत र गम्भीर रहनुपर्छ । परिस्थितिको वस्तुगत आँकलन बिना गरिने मनोगत र सतही निर्णयहरूले पेसागत आन्दोलनलाई लाभभन्दा ज्यादा हानि गर्छ भन्ने कुरा विगतका इतिहासले पुष्टि गरेको छ । त्यसैले वि. सं २०६१/०८२ को ऐतिहासिक र मानक शैक्षिक आन्दोलनको जगमा टेकेर विगतका सबै सहमति सम्बोधन हुने गरी एउटा अग्रगामी ऐन ल्याउने कामलाई तीव्र गति दिन हामी सचेत जिम्मेवार र सक्रिय छौँ ।

यो अभियान माथि कुनै खालको षड्यन्त्र वा बाधा उत्पन्न गर्न खोजिएमा वा गरिएमा ने शि. महासङ्घले नयाँ शिराबाट तुरन्तै अझ ठूलो आन्दोलन गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक – कर्मचारी विरोधी चेत र प्रयत्नलाई परास्त गरी अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्नेछ । शिक्षक–कर्मचारी आन्दोलनलाई अझ बलियो र परिणाममुखी बनाउन सदा झैं ने शि. महासङ्घलाई सबै शिक्षक – कर्मचारीको साथ सहयोग प्राप्त हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।