काठमाडौं/२२ बैशाख – काठमाडौँ महानगरपालिकाले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा दण्डित नगर्न निर्देशन दिएको छ । विद्यालयमा शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएका केही विद्यालयहरूले नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिबाना गर्ने गरेको पाइएकोले सो निर्देशन दिएको हो ।
यदि महानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत कुनै पनि विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिबाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरेको छ ।



