काठमाडौं/२२ बैशाख – सभामुख देवराज घिमिरेले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न गराउन आवश्यक व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका छन् ।
उडिसा स्थित कलिंगा इन्स्टिट्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा शाहको निधन बारे आज बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा उठाएपछि सो निर्देशन दिएका हुन ।
घिमिरेले सांसदहरूले आकस्मिक समयमा उठाएको विषयमा सदनको गम्भीर ध्यान आकर्षण भएको उल्लेख गर्दै । सरकारलाई यस घटना प्रति गहिरो चासो दिँदै सत्य तथ्य पत्ता लगाउन सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश दिएका छन् ।
‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एक पछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको एउटा गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटना प्रति गहिरो चासो दिँदै सत्य तथ्य पत्ता लगाउन सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न म निर्देश गर्दछु । साथै विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न गराउन आवश्यक व्यवस्था गर्न समेत म निर्देशन गर्दछु ‘ उनले भनेका छन् ।



