विद्यालय शिक्षा विधेयक छलफल : उपसमितिको समय थप गर्ने तयारी

काठमाडौं/२२ बैशाख – विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्ताव बारे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । समितिको बैठक आज दिउँसो ३: ३० बजे बस्ने भएको छ ।


सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक र उपसमितिको कार्य प्रगति प्रस्ताव बारे छलफल हुनेछ । उपसमितिले एकसरो छलफल गरेर सकिसकेको अवस्थामा अब विधानत रूपमा हेर्नुपर्ने, क्रस रेफरेन्स चेक गर्नुपर्ने भएकोले उपसमितिको म्याद थपका विषयमा आज छलफल गरिने सचिवालयले जनाएको छ ।


हतार गर्दा मिसिङ हुने, छुट्ने र बिग्रने खतरा रहेको हुनाले सबै तथ्याङ्कहरूलाई अगाडी राखेर प्रतिवेदनमा अथवा उपसमितिको विषयलाई र त्यसलाई ट्यालि गरेर हेर्नुपर्ने हुँदा ८-१० दिनको समय थप्न गर्न लागिएको सचिवालयको भनाई छ ।


उपसमितले छलफल गरेका विषयलाई सचिवालयले तयारी गरिसकेपछि फेरि उपसमितिमा पेस गर्ने र उपसमितिले एकपटक छलफल गरेर प्रतिवेदनलाई पारित गर्ने जस्ता कामहरू बाँकी रहेका छन् । छलफल गरेर पहिलो चरणको निष्कर्ष निकालिएपनि लेखनको कार्य भइरहेकोले उपसमितिले प्रतिवेदनलाई फाइनल रूपमा पारित गरिसकेको छैन ।


११ सदस्यीय उपसमितिको संयोजकत्वमा छविलाल विश्वकर्मा छन् । उपसमितिमा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, सांसदहरू रेखा शर्मा, डिगबहादुर लिम्बू, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, विनिताकुमारी सिंह, बिना जैसवाला सदस्य छन् ।