बास्केटबल प्रतियोगितामा फेरिल्यान्ड र भ्याली पब्लिकको जित

काठमाडौँ /२० माघ – प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि भ्याली पब्लिक र फेरिल्यान्डले जितेका छन् । भ्याली पब्लिक जुनियर ब्वाइज तथा फेरिल्यान्ड जुनियर गल्र्समा जिते निकालेका हुन् ।


सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले पारामाउन्ट एकेडेमीलाई ४५–२६ ले पराजित ग¥यो । जुनियर गल्र्स चर्फ फेरिल्यान्डले भ्याली पब्लिकलाई १९–१२ ले जित निकालेको छ । २ वर्षदेखि बास्केटबल खेल्न सुरु गरेको फेरिल्यान्डको यो समग्रमा दोस्रो उपाधि हो । फुल कोर्टमा भने पहिलो उपाधि हो । यसअघि फेरिल्यान्डले साइपाल थ्री बाइ थ्री बास्केटबलको उपाधि जितेको फेरिल्यान्डका प्रशिक्षक नारायण खवासले जानकारी दिए ।


जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक दरी तथा जुनियर गल्र्समा फेरिल्यान्डकी सन्दिपा राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा पारामाउन्टका सुशान थापा र जुनियर गल्र्समा भ्याली पब्लिककी सपना गिरी उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा ज्ञान संस्कारका विकल्पराज भण्डारी र जुनियर गल्र्समा ज्ञान संस्कारकै सान्भी श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने । जुनियर ब्वाइजमा न्युटन तथा जुनियर गल्र्समा सत्यसाई शिक्षा सदनले अनुशासित टिमको उपाधि हात पारे ।


विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र ज्ञान संस्कार स्कुलकी प्रिन्सिपल नीलम बानियाँ बडालले एक कार्यक्रमबिच पुरस्कृत गरे । माघ ११ गतेदेखि सुरु भएको प्रतियोगितामा जुनियर ब्वाइजमा २४ तथा जुनियर गल्र्समा १६ टिमको सहभागीता रहेको थियो ।