काठमाडौँ /२० माघ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकोले शिक्षामा लगानी गर्न सरकार तयार रहनुपर्नै बताएकी छन् । मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/०८२ को मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा दोस्रो त्रैमासिक प्रगति समीक्षाको बैठकमा सो कुरा बताएकी हुन ।
साथै शिक्षकलाई मेन्टरको रूपमा विकास गर्नुपर्ने र संस्थागत विद्यालयमा समेत सुशासनको पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिइन ।
बैठकमा मन्त्रालय अन्तर्गतका निकायहरूको भौतिक तथा वित्तीय प्रगति, मन्त्रालयबाट दोस्रो त्रैमासिक अवधिमा सम्पादित प्रमुख कार्यहरू, माइलस्टोनमा उल्लेख भएका विषयहरूको कार्यान्वयन अवस्था, प्रधानमन्त्री र शिक्षा मन्त्रीबिच भएका कार्यसम्पादन सम्झौताका विषयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
उक्त बैठकमा मन्त्रालयका शिक्षा सचिव र शिक्षा तथा विज्ञान प्रविधिका सचिव, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगका प्रतिनिधिहरू, महाशाखा प्रमुखहरू, विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।
बैठकले संघ, प्रदेश र स्थानीय साझेदारीमा शिक्षा कोषको स्थापना गर्ने र सिएलपिआईयुको कार्यक्षेत्र विस्तार गर्ने विषयलाई राष्ट्रिय स्तरीय विकास समस्या समाधान समितिमा लैजाने विषय प्रस्ताव गरेको छ ।



