बाँके/१९ माघ – माघ २२ गतेदेखि ६ फागुनसम्म बाँकेका सबै पालिकामा सञ्चालन गरिने खोप अभियानलाई सफल पार्ने मुस्लिम धर्मगुरु र शिक्षकले प्रतिवद्धता जनाएका छन् । १० देखि १४ वर्षका र कक्षा ६ देखि १० सम्मका मुस्लिम बालिकालाई बढी भन्दा बढी सहभागी गराई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानलाई सफल पार्ने प्रतिबद्धता जनाइएका हुन् ।
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका मुस्लिम धर्मगुरु र मुस्लिम शिक्षकलाई खोप अभियान बारे जानकारी गराई सहयोग लिने उदेश्यले आयोजना गरेको अन्तरक्रियामा धर्मगुरु र शिक्षकले एचपिभी खोप अभियानमा बढी भन्दा बढी मुस्लिम समुदायका लक्षित बालिकालाई सहभागी गराउने वातावरण बनाउने प्रतिबद्धता जनाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यक्रममा २५ मुस्लिम धर्मगुरु र ४७ जना शिक्षकको सहभागिता रहेको थियो । बाँकेका आठ स्थानीय तहका विद्यालयमा अध्ययनरत ३३ हजार ३७५ जना र विद्यालय बाहिर रहेका दुई हजार ८५० जना गरेर ३५ हजार ४४ जना किशोरीलाई एचपिभी खोप लगाउने छन् ।
जिल्लाका ३७८ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउनका लागि ४५९ वटा खोप केन्द्र तोकिएको छ । ती मध्ये ३७८ वटा विद्यालयमा र ८१ वटा विद्यालय बाहिर राखिएका छन् ।



