विद्यालय शिक्षा विधेयक सम्बन्धी तत्काल ३ प्रदेशमा समितिले अन्तरक्रिया गर्दै

काठमाडौं/४ पुस – बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकको सम्बन्धमा सातै प्रदेशमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ । समितिले अन्तरक्रिया गर्ने मोडालिटी सार्वजनिक गर्दै प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको हो ।


कार्यक्रमको मोडालिटीमा सात प्रदेशमा हुने ७ वटा कार्यक्रमको लागि ५ वटा मात्र टोली निर्माण हुने जनाएको छ । कोशी र मधेस प्रदेशका लागि एउटा तथा कर्णाली र लुम्बिनी प्रदेशका लागि एउटा टोली निर्माण हुनेछ । प्रत्येक सदस्यले आफ्नो दलबाट समितिमा प्रतिनिधित्व गर्नुहुने सदस्यहरुबिच समन्वय गरी सदस्यले रोजेको कुनै एक प्रदेशमा सहभागी हुनु पर्ने र प्रत्येक टोलीमा ५ जना सदस्यका दरले टोली बनाइने मोडालिटी छ ।


त्यसैगरी एउटा दलबाट एउटा प्रदेशमा एक जना मात्र सहभागी हुने तर नेकपा एमाले र नेपाली काँग्रेसका ७ ७ जना सदस्य भएकाले कुनै २ वटा प्रदेशमा २ २ जना सदस्य सहभागी हुने र आफूले रोजेको प्रदेश बाहेक आफ्नो प्रदेशमा हुने कार्यक्रममा त्यस प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने सदस्य स्वतः सहभागी हुन पाउने निर्णय गरेको छ ।


साथै तत्काललाई ३ वटा प्रदेशस्तरीय कार्यक्रम गर्ने समितिले जनाएको छ । पुस ९ गतेसम्म सुदूर पश्चिम प्रदेशमा, पुस १३ गते कोशी प्रदेश र पुस १५ गते मधेस प्रदेशमा अन्तरक्रिया हुने जनाएको छ । त्यसैगरी पहिलो चरणको कार्यक्रमको फिडब्याक समेतका आधारमा त्यसपछि अन्य प्रदेशमा समेत कार्यक्रम हुने छन् ।


हेर्नुहोस बुधबारको निर्णय