निजि र सरकारी भन्दा पनि समग्र शिक्षा कस्तो बनाउने तर्फ बहस केन्द्रित भएको छ : शिक्षा मन्त्री

पोखरा/२१ कार्तिक – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सेवा ग्राही कार्यालयका काम सेवाग्राही मैत्री बनाउनेतर्फ केन्द्रीत हुन आग्रह गरेकी छन् । गृह जिल्ला कास्कीस्थित शिक्षा सम्बद्ध कार्यालयहरूको अवलोकनका क्रममा कार्यालय प्रमुख र कर्मचारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले स्रोत साधनलाई दोष दिएर सेवा प्रवाहमा ढिलासुस्ती हुन नहुने भन्दै हरेक सेवा प्रवाहमा संरचना वाधक भए तत्काल समय सापेक्ष बनाउनेतर्फ लाग्न आग्रह गरीन ।


राज्यका हरेक निकाय नागरिकका मौलिक हकहरूको संरक्षक समेत भएको हुँदा सबै निकाय इमान्दारी पूर्वक आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न लागि पर्नुपर्ने मन्त्री भट्टराईको भनाइ थियो । प्रदेश र स्थानीय तह सहित संघीय सरकारको समेत अपनत्व हुने गरी संरचना निर्माणका लागि मन्त्रालय लागि परेको भन्दै अब निजि र सरकारी शिक्षा भन्दा समग्र शिक्षा कस्तो बनाउने भन्नेतर्फ बहस केन्द्रित भएको भन्दै मन्त्री भट्टराईले छिट्टै जारी हुने शिक्षा ऐन मार्फत यसको सम्बोधन हुने जानकारी दिइन ।


शिक्षाको गुणस्तर बढाउन दक्ष र तालिम प्राप्त शिक्षकको महत्त्वपूर्ण भूमिका हुने हुँदा उनीहरुको क्षमता विकासका काममा लाग्न कर्मचारीहरूलाइ निर्देशन दिइन । सो अवसरमा प्राविधिक शिक्षाका शिक्षालयहरू थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेशस्तरबाटै मनिटरिङ गर्ने व्यवस्था व्यवहारिक र वैज्ञानिक हुने उनको भनाई थियो ।


अन्तरक्रिया लगतै मन्त्री भट्टराईले कास्कीस्थित शिक्षा विकास समन्वय इकाई, शिक्षा विकास निर्देशनालय, प्रादेशिक परीक्षा बोर्ड लगायतका कार्यालयहरूको अवलोकन सहित सेवा प्रवाहको अवस्था सम्बन्धमा जानकारी लिएकी थिइन ।