काठमाडौं/१९ कार्तिक – नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले आउँदो हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन ल्याउन नेपाल शिक्षक महासङ्घले दबाब दिन आवश्यक रहेको बताएका छन् । उनले शिक्षकहरू सडक मै आउनु पर्ने, सबै शिक्षक काठमाडौँ मै आउनु पर्ने भन्दा पनि फरक तरिकारले आन्दोलन गर्नुपर्ने धारणा राख्दै ऐन ल्याउन दबाब दिन आवश्यक रहेको बताएका हुन् ।
परियारले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन ल्याउन चरणबद्ध रूपमा शिक्षा मन्त्री र संसदीय समितिका सभापतिलाई ध्यानाकर्षण गर्न नेपाल शिक्षक महासङ्घलाई सुझाब दिएका छन् । महासङ्घकै आग्रह अनुसार आफूले संशोधन हालेको बताउँदै विद्यालय शिक्षा ऐनलाई समयानुकूल बनाउनुपर्नेमा जोड् दिए ।
२० औँ वर्ष पढाएका शिक्षकलाई के गर्ने भन्ने विषयमा राज्यले सोच्नुपर्ने बताउँदै शिक्षकहरूलाई रित्तो हात घर जाउ भन्न नमिल्ने बताए । उनले भने ‘राज्यले अस्थाई शिक्षकहरूका बारेमा कम्तीमा एक पटक सोच्नुपर्छ । सबै शिक्षकहरूमा एक रूपता ल्याउन जरुरी छ । २० औँ वर्ष पढाएका शिक्षकहरूलाई रित्तो हात घर जाउ भन्न मिल्दैन ।’
साथै शिक्षकको मनोबल बढाउनका लागि संस्थागत विद्यालयका शिक्षक वा सामुदायिक विद्यालयमा निजि स्रोतमा पढाउने जुनसुकै प्रकृतिका शिक्षकलाई सामाजिक सुरक्षा कोषमा ल्याउनुपर्ने उनको भनाई थियो ।
शिक्षकहरूलाई राजनीति गरे भन्ने आरोपको सन्दर्भमा बोल्दै शिक्षकलाई राजनीति गर्ने वातावरण दलका नेताहरूले नै बनाएको र त्यसको जिम्मेवार नेता नै हुने उनको तर्क छ । साथै विगतमा शिक्षकहरूले राजनीति गरे भनेर आरोप लगाउन नहुने बताए ।
सहमहामन्त्री परियारले निजामती कर्मचारीहरूको ऐन जस्तै शिक्षक ऐन, विद्यालय कर्मचारी ऐन हुनुपर्ने, उमेर हदबन्दी बढाउनुपर्ने, शिक्षक अस्पताल बनाउनुपर्ने लगायतका विषयमा जोड् दिएका थिए ।



