काठमाडौँ/१८ कार्तिक – आज नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन । आज दिदीबहिनीहरुले दाजुभाइहरुका लागि दीर्घायुको कामना गर्दे टीका लगाइदिने दिन । साथै दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारलाई यमपञ्चकसमेत भनिन्छ । तिहारमा भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
आज भाइटीका दिनभर लगाउन सकिने भएपनि बिहान ११ बजेर ३७ मिनेटमा उत्तम साइत रहेको छ । भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने छ ।
प्रचलित भनाई अनुसार एक पटक एक जना चेलीले आफ्नो दाजुलाई टिका लाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आई पुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यु निश्चय छ । ती चेलीले यमदूतलाई टिका टालो नसकुन्जेलसम्म पर्खिन भन्छिन् र टिकोटालाका क्रममा यमदूतलाई पनि सँगै राखेर टिका टालो अनि पूजा गर्दछिन् ।
यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदूतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजुलाई नलग्नु भनेर वरदान मागेर बचाएको अर्थात् चेलीको मायाले दाजुभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
साथै टिका लगाउनु पूर्व दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गर्नका लागि भूँईमा चकटी ओछ्याएर बसेको ठाउँ वरिपरि कलशमा तेल–पानी राखेर हरियो दुवोबाट पातलो धारा बगाउँदै पाँच पटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलाई भुटेर तयार भएको लाभा छर्कदैँ कलशको पानीलाई दुबोले अभिसेष गर्दै पूजा गर्दछन् । यमराजको प्रतीक मानेर बिमिराको पूजा गरिसकेपछि, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फुटाइ ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य अनि दिर्घायूको कामना गर्ने चलन छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।