राष्ट्रिय पाठ्यक्रम केन्द्र
काठमाडौं/४ मंसिर–आगामी शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागूू हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेश भट्टराईले भने,“आगामी शैक्षिक सत्रमा देशभरका विद्यालयहरुमा कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू हुनेछ ।” केन्द्रले यस वर्ष १८ जिल्लाका एक सय ३ विद्यालयमा कक्षा १ को पाठ्यक्रम परीक्षण गरिरहेको छ ।
केन्द्रले राष्ट्रिय पाठ्यक्रममा केही परिवर्तन गरेर ०७७ देखि नयाँ पाठ्यक्रम लागूू गर्ने भएको हो । यसअघि ७ वटा विषय अध्यापन गराउनुु पर्नेमा नयाँ व्यवस्था अनुसार कक्षा ११ र १२ मा ६ वटा विषय पढ्नुु पर्ने बनाईएको छ । केन्द्रका अनुसार कक्षा ११ मा विद्यार्थीहरुले अब ६ वटा विषय अनिवार्य रुपमा अध्ययन गर्नुपर्ने छ । अंग्रेजी, नेपाली र समाजिक विषयलाई अनिवार्य विषयका रुपमा राखिएको छ भने ३ वटा ऐच्छिक विषय रहेका छन् । यस्तै, कक्षा १२ मा अंग्रेजी, नेपाली र जीवनापयोगी विषयलाई अनिवार्य बनाईएको छ भने ३ वटा विषय ऐच्छिक रहेका छन् । क्रेडिट आवर कम भएका विषय पढ्नेले थप एक विषय पढ्न सक्ने उनले बताए ।
आगामी शैक्षिक सत्रदेखि कक्षा १ मा ५ वटा विषय पढाई हुने बताउँदै उनले भने,“एउटा विषय स्थानीय पाठ्यक्रम हुनेछ, जसको निर्माण नगरपालिका वा गाउँपालिकाले गर्छ ।” उनले विद्यार्थीहरुलाई सीपमूलक शिक्षा दिनका लागि नयाँ पाठ्यक्रम लागू गर्न लागिएको बताए । केन्द्रले ०८० भित्र सबै तहमा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ ।