चिकित्सा शिक्षामा तीन अर्ब ठगी


Image result for राष्ट्रिय सतर्कता केन्द्र नेपाल
राष्ट्रिय सतर्कता केन्द्र

काठमाडौं/२६ मंसिर–चिकित्सा शिक्षा पढाउँदै आएका १२ वटा मेडिकल कलेजले विद्यार्थीहरुसँग अवैधरुपमा झण्डै तीन अर्ब रुपैयाँ असुलेको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रका अनुसार १२ वटा मेडिकल कलेजले दुुई अर्ब ८५ करोड १३ लाख १६ हजार दुुई सय ९७ ठगी गरेको पाइएको हो । ठगी गर्ने कलेजहरुमा बीरगञ्जको नेशनल मेडिकल कलेज, भैरहवाको युनिभर्सल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, रुपन्देहीको देवदह मेडिकल कलेज, गण्डकी मेडिकल कलेज टिचिङ अस्पताल र ललितपुुरको किस्ट मेडिकल कलेज रहेका छन् । यसैगरी, पाल्पाको लुम्बिनी मेडिकल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज, विराट मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेज, सिनामंगलको काठमाडौं मेडिकल कलेज र भरतपुरको कलेज अफ मेडिकल साइन्सेजले पनि बढी रकम असुलेको पाइएको छ ।
विद्यार्थीहरुको उजुरीका आधारमा केन्द्रले गरेको छानविनमा मेडिकल कलेजहरुले प्रति विद्यार्थीबाट दुुई लाखदेखि २५ लाख ४० हजार ५ सय ३२ रुपैयाँसम्म अतिरिक्त शुल्क लिने गरेको पाइएको हो ।
सरकारले शैक्षिक सत्र ०७३–०७४ मा उपत्यका भित्रका मेडिकल कलेजले ३५ लाख र उपत्यका बाहिरका मेडिकल कलेजलाई ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो भने शैक्षिक सत्र ०७४–०७५ मा उपत्यका भित्रका मेडिकल कलेजलाई ३८ लाख ५० हजार र उपत्यका बाहिरका मेडिकल कलेजलाई ४२ लाख ४५ हजार शुल्क तोकिएको थियो । शिक्षण शुल्कभित्र सबै शुल्क पर्ने कानुनी व्यवस्था भएपनि मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुली गर्ने गरेको पाइएको छ ।