शैक्षिक परामर्शको १ करोड ७६ लाख ७६ हजार राजस्व आएन

काठमाडौँ /१४ जेठ-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श कम्पनीहरू सञ्चालन भइरहेको देखिएकोले अन्यौलताको निरूपण गर्नुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । नवीकरण र नयाँ दर्ता स्थगित भएको अवस्थामा पनि ती कम्पनीहरू सञ्चालन भइरहेको देखिएकोले अन्यौलताको निरूपण गर्नुपर्ने सुझाब दिएको हो ।


मन्त्रालयको २०७५ /४/१४ को सचिवस्तरीय निर्णयबाट नवीकरण र नयाँ दर्ता स्थगित भएको र हालसम्म नविकरण नहुँदा प्रतिवर्ष रू.४४ लाख १९ हजारका दरले ४ वर्षको रू. १ करोड ७६ लाख ७६ हजार राजस्व प्राप्त हुन नसकेको उल्लेख छ ।


“शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिका, २०७३ मा भएको व्यवस्थाबमोजिम १ हजार ४७३ शैक्षिक परामर्श सेवा प्रदायक कम्पनी मन्त्रालयमा दर्ता भएकोमा संघ र प्रदेशको क्षेत्राधिकार स्पष्ट नभएको उल्लेख गरी २०७५ /४ /१४ को सचिवस्तरीय निर्णयबाट नवीकरण र नयाँ दर्ता स्थगित भएको छ । ती कम्पनीहरूको नवीकरण वापत प्राप्त हुने राजस्व प्रतिवर्ष रू. ४४ लाख १९ हजारका दरले ४ वर्षको रू. १ करोड ७६ लाख ७६ हजार प्राप्त हुन सकेको छैन । नवीकरण र नयाँ दर्ता स्थगित भएको अवस्थामा पनि ती कम्पनीहरू सञ्चालन भइरहेको देखिएकोले यस सम्बन्धमा देखिएको अन्यौलताको निरूपण हुनुपर्दछ” प्रतिवेदनमा भनिएको छ ।


त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विगत ३ वर्षमा विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई स्नातक तह वा सोभन्दा कमको लागि १ लाख ९३ हजार २५६ र स्नातकोत्तर वा सोभन्दा माथि ३२ हजार ५१४ समेत २ लाख २५ हजार ७ सय ७० विद्यार्थीलाई नो अब्जेक्सन लेटर जारी गरेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।


यसरी विदेशिएको जनशक्ति अध्ययन पूरा गरी न्यून सङ्ख्यामा नेपाल फर्केको देखिएको र विगत ३ वर्षमा मन्त्रालयबाट नो अब्जेक्सन लेटर जारी भएका बाहेक पनि अनौपचारिक क्षेत्रबाट विदेश पलायन हुने विद्यार्थीको सङ्ख्या अझै बढिरहेको जनाएको छ ।


विश्व बजारमा अवसर प्राप्त गर्ने पाठ्यक्रम एवं शिक्षाको विकास गरी मुलुकको शैक्षिक व्यवस्थालाई प्रभावकारी बनाउन एवं प्रतिभा पलायन हुन नदिने गरी राज्यले नीतिगत रूपमा सम्बोधन गरी विश्व बजारको मागअनुसारको जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने व्यवस्था मिलाउनु पर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा सुझाब छ ।