काठमाडौँ /१४ जेठ – अख्तियार अनुसन्धान आयोगले विद्यालय भवन निर्माणमा रकम हिनामिना गर्ने प्रधानाध्यापक सहित आठ जना विरुद्ध मुद्दा दायर गरेको छ । विद्यालयको भवन निर्माण सम्झौता बमोजिम काम नगरी विनियोजित रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा रकम हिनामिना गरेको पाइएपछि उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो ।
कालीकोट जिल्लाको पलाँता गाउँपालिका वडा नं. १ स्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम बहादुर बुचा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष मान बहादुर भण्डारी, गाउँपालिका कार्यालय निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बम, सिभिल सब इन्जिनियर माधव कुमार भट्ट, असिस्टेन्ट सब इन्जिनियर हिक्मत प्यकुरेल, विद्यालय व्यवस्थापन समिति सदस्य वीरजन भण्डारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सन्तोष बुढा र विद्यालयका लेखापाल विशाल भण्डारी सहितको मिलेमतोमा सम्झौता बमोजिम काम नगरी विनियोजित रकम हिनामिना गरेको आयोगको आरोप छ ।
विद्यालयमा आ।व। २०७४/०७५ मा बहुवर्षीय विद्यालय भवन निर्माणको लागि जिल्ला शिक्षा कार्यालय कालीकोट र कालिका माध्यमिक विद्यालय निर्माण सहयोग समिति÷विद्यालय व्यवस्थापन समितिबिच २ तले ४ कोठे फर्निचरसहितको भवन निर्माण कार्य मिति २०७५ जेष्ठ मसान्तसम्ममा कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो ।
भवन निर्माण योजनाको नापी किताब तथा कार्यसम्पादन प्रतिवेदनमा भवनमा १२ वटा पिलर भई निर्माण भएको, लामो पर्खाल २ वटा र छोटो पर्खाल ४ वटा भएको, भवनको झ्याल तथा भेन्टिलेशनमा ग्रिल ९सरिया० भएको, भवनको ४ वटा कोठामा फर्निचरको काम भएको, भवनको सिलिङ र स्ल्याबमा प्लास्टर भएको भनी उल्लेख भएता पनि स्थलगत नापजाँच प्रतिवेदनबाट उक्त भवनमा ९ वटा मात्र पिलर भई निर्माण भएको, लामो पर्खाल २ वटा र छोटो पर्खाल ३ वटा भएको, भवनको झ्याल तथा भेन्टिलेशनमा कुनै पनि ग्रिल (सरिया) नभएको, भवनको ४ वटा कोठामा कुनै पनि फर्निचरको काम नभएको, भवनको सिलिङ र स्ल्याबको कुनै पनि प्लास्टर नभएको देखिन आएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले निर्धारित मापदण्ड र सर्त विपरीत निर्माण गरी इस्टिमेट अनुसार काम नगरी सरकारी रकम हानिनोक्सानी गरेको पुष्टि भएकोले उक्त कार्यमा संलग्न व्यक्ति उपर विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।



