शिक्षक सरुवा खुला गर्ने तयारीमा शिक्षा मन्त्रालय

काठमाडौँ /१३ जेठ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थगित गरिएको जिल्लान्तर शिक्षक सरुवा खुला गर्ने तयारीमा रहेको जनाएको छ । मन्त्रालयले ’शिक्षक सरुवा मापदण्ड’ बनाउनका लागि स्थगित गरेको जिल्लान्तर सरुवा खुला गर्ने भएको हो ।


शिक्षा मन्त्रालयका अनुसार शिक्षक सरुवाको मापदण्ड अन्तिम चरणमा पुगेको र अहिले कानुनी आधार हेरिएको बताउँदै मापदण्ड सार्वजनिक गरेर खुला गर्ने तयारी गरेको छ । शिक्षक सरुवाका सवालमा विभिन्न किसिमका गुनासो आएपछि स्थगित गरी नयाँ मापदण्ड बनाइएको छ ।


खबर एजुकेशन सँगको कुराकानीमा शिक्षा मन्त्री सुमना श्रेष्ठले आज वा भोलि शिक्षक सरुवा खुला हुने बताइन । उनले शिक्षक सरुवा सम्बन्धी मापदण्डका विषयमा छलफल भइरहेको र आज वा भोलिमा खुला हुने सम्भावना धेरै रहेको बताइन ।


मापदण्ड बनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग छलफल गरेकी थिइन । छलफलमा सहभागीहरूले शिक्षक सरुवा पारदर्शी, सहज र व्यवस्थित हुनुपर्ने, जिल्लान्तर सरुवा बाह्रै महिना हुने व्यवस्थालाई शैक्षिक सत्रसँग मिलान हुनेगरी वर्षको एक पटक मात्र हुनुपर्ने, शिक्षक पदपूर्तिका लागि दरबन्दी लुकाएर विज्ञापनमा नपठाउनेलाई कारबाहीको प्रावधान, शिक्षकलाई पायक पर्ने र स्वार्थको द्वन्द्व नहुने ठाउँमा सरुवा गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।