कैलाली/५ जेठ – कैलालीको घोडाघोडी नगरपालिका – १ सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो जग्गा खाली गराउन शुक्रबारदेखि डोजर प्रयोग गरेको छ । विद्यालयको जग्गा भाडामा लिएर वस्दै आएकालाई पटक÷पटक जग्गा खाली गर्न विद्यालय प्रशासनले ताकिता गर्दा पनि जग्गा खाली नभएपछि स्थानीय प्रहरी प्रशासन, नगरपालिकाको समन्वयमा डोजरको प्रयोग गरेर विद्यालयको जग्गा खाली गराउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले बताउनुभयो ।
विद्यालयको जग्गामा संरचना नै बनाएर व्यापार व्यवसाय तथा बसोबास गर्नाले विद्यालय प्रयोजनका संरचना निर्माणमा कठिनाइ भएपछि जग्गा खाली गराउन सूचना जारी गरेको थियो । दुई बिघा आठ कट्ठा जमिनमध्ये हाल आठ कट्ठामा बसेकालाई खाली गरेर सो जग्गामा विशेष विद्यालय बनाउने निर्णय विद्यालय व्यवस्थापन समितिले यसअघि नै गरेको जनाइएको छ ।अध्यक्ष हमालले विशेष विद्यालय निर्माणका लागि दुई करोड ५३ लाख रुपियाँ रकम खातामा आइसकेको भए पनि विद्यालयको जग्गा खाली नहुँदा उक्त योजना अगाडि बढाउन नसकिएको बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहितको सहभागितामा संरचना हटाउने काम भएको हो ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले लामो समय सरकारी विद्यालयको जग्गामा संरचना बनाई बसेकाले जग्गा खाली गर्न आह्वान गरेको सूचनालाई बेवास्ता गर्दा डोजर चलाउन बाध्य हुने अवस्था आएको बताउनुभयो । उहाँले विद्यालयको विकासको काममा स्थानीयले साथ दिनुपर्ने बताउनुभयो ।
वद्यालयको जमिनमा २२ वर्षदेखि स्थानीयले भाडामा व्यापार तथा बसोबास गर्दै आएका छन् । सुखड बजारको आधाभन्दा बढी जमिन विद्यालयको नाममा रहेको छ । राष्ट्रिय माध्यमिक विद्यालयको नाममा रहेको जमिनमा २०५८ सालदेखि व्यापारीले मासिक भाडा विद्यालयलाई बुझाउनुपर्ने गरेर सम्झौता गरेर भाडामा दिएको थियो । विद्यालयको रेकर्डमा एक करोड ३७ लाख ९० हजार ११८ रुपियाँ भाडा उठ्न बाँकी देखिन्छ । गोरखापत्रमा समाचार छ ।