सामुदायिक विद्यालयमा शिक्षक पाउँनै मुस्किल

काठमाडौँ /२६ बैशाख – सामुदायिक विद्यालयमा पटक पटक विज्ञापन गरेर शिक्षक माग गर्दा पनि नपाउने समस्या रहेको छ । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रका विद्यालयमा विषयगत शिक्षक पाउँनै मुस्किल देखिएको हो ।


पटक पटकको विज्ञापनमा दरखास्त नपर्ने भएपछि शिक्षकको अभावमा विद्यालयहरूमा पठनपाठन गर्न बाध्य छन् । एकातिर शिक्षक हुन चाहाने कमि र अर्को तर्फ सेवा सुविधाका कारणले कसैले पनि दरखास्त दिँदैनन् ।


शिक्षा मन्त्रालयको नियम अनुसार पढाउनका लागि अध्यापन अनुमति पत्र अनिवार्य गरे पनि विद्यालयले अध्यापन अनुमति पत्र नभएकालाई पनि शिक्षकमा राख्न तयार हुँदा समेत शिक्षक पाउन सकेका छैनन् ।


यस्तै समस्याका कारण प्युठानको गौमुखी गाउँपालिका १ मा रहेको श्री अर्खा माध्यमिक विद्यालयले विज्ञान विषयमा शिक्षकका लागि पाँचौँ पटक विज्ञापन गरेको छ । सङ्घीय अनुदान कोटामा विज्ञान विषयको पद रिक्त रहेको र पदपूर्तिका लागि दरखास्त माग्दा कसैको दरखास्त नपरेपछि पटक पटक विज्ञापन गर्न बाध्य भएको छ ।


विद्यालयले कसैले पनि दरखास्त नदिएपछि अध्यापन अनुमति पत्र नभएका योग्य व्यक्तिलाई समेत दरखास्त दिन सक्ने जनाएको छ ।


प्युठानको श्री अर्खा माध्यमिक विद्यालयले मात्रै होइन देशभरका अधिकांश सामुदायिक विद्यालयले विषयगत शिक्षक पाउन सकेका छैनन् । शिक्षा मन्त्रालयले अपुग शिक्षकका लागि अनुदान कोटा उपलब्ध गराएपनि सेवा सुविधा कम हुने र ग्रामीण क्षेत्रमा गएर पढाउनु पर्ने भएका कारण विषयगत शिक्षक पाउँदैनन् ।