विदेशी शिक्षण संस्थाको सम्बन्धन र सञ्चालन सम्बन्धी निर्देशिका परिमार्जन गर्ने तयारी

काठमाडौँ /२२ बैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९” परिमार्जन गर्ने भएको छ । निर्देशिकालाई समयानुकूल बनाउने उदेश्यले परिमार्जन गर्ने लागिएको हो ।


शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको निर्देशनमा निर्देशिका परिवर्तन गर्नका लागि आन्तरिक समिति बनाइएको स्रोतले जनाएको छ । निर्देशिका २०५९ सालमा बनाइएको र त्यो पुरानो भएका कारण अव्यावहारिक देखिएकोले समयानुकूल बनाउनका लागि परिमार्जन गर्न आन्तरिक समिति बनाएर अध्ययन भइरहेको जानकारी दिइएको छ ।


त्यसैगरी आन्तरिक समितिलाई सहजिकरण गर्नका लागि पूर्व सचिव डा। शंकर प्रसाद कोइरालाको संयोजकत्वमा विज्ञ टोली गठन गरिएको छ । उक्त विज्ञ टोलिले निर्देशिका परिमार्जनका लागि महाशाखा प्रमुखलाई सुझाब दिनेछ ।


निर्देशिकामा विषयगत शुल्क निर्धारण, सम्बन्धन, नविकरण सम्बन्धी व्यवस्था, सञ्चालनको अनुमति, निरिक्षण तथा अनुगमन लगायतको व्यवस्थालाई समयानुकूल बनाईने छ ।


अनुगमनको अन्तिम तयारी


मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेका कलेजको अनुगमन गर्ने अन्तिम तयारी गरेको छ । मन्त्रालयले निर्देशिकामा भएका प्रावधानहरूलाई अनुगमनको टुल बनाएर सञ्चालन स्थान, कुन विश्वविद्यालयको हो, कति जग्गामा सञ्चालन छ साथै भौतिक, आर्थिक, प्रशासनिक, शैक्षिक लगायतका पक्षमा अनुगमन गर्ने छ ।


मन्त्रालयमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेका कलेजको यस भन्दा अगाडि गरिएका अनुगमन फितलो भएको गुनासो आएपछि छुट्टै टोली गठन गरेर अनुगान गर्न लागिएको जनाएको छ ।
अनुगमनका लागि फाइल अगाडी बढाइएको र केही दिनबाट अनुगमन गरिने स्रोतको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *