लुम्बिनी वर्ल्ड स्कुल : शिक्षण सिकाईका लागि प्रशिक्षणमा केन्द्रीत

काठमाडौँ/२८ चैत – शिक्षकहरूको क्षमता अभिवृद्धि भयो भने मात्रै शिक्षण सिकाई प्रभावकारी हुने मूल मन्त्रका साथ रूपन्देहीको मधौलियामा रहेको लुम्बिनी वर्ल्ड स्कुलले शिक्षक केन्द्रीत प्रशिक्षण सञ्चालन गरेको छ ।


बालबालिकाको सर्वाङ्गीण विकाससँगै सिकाईलाई प्रभावकारी बनाउन शिक्षक तयारी हुनुपर्ने, कक्षा कोठामा शिक्षक सहयोगीको भूमिकामा रहे मात्रै बालबालिकाले सुझेर सिक्ने उदेश्यले शिक्षकहरूलाई हरेक महिनाको अन्तिम आइतवार तालिम दिने गरेको छ । साथै हरेक नयाँ शैक्षिक सत्र सुरु हुनु भन्दा अगाडी विभिन्न विद्यालयको अवलोकन, विज्ञ सहितको तालिममा केन्द्रीत रहने गरेको छ ।


यसै सवालमा विद्यालयको भौतिक संरचना निर्माण भन्दा शिक्षकको क्षमता अभिवृद्धिमा केन्द्रीत हुनुपर्ने स्कुलको धारणा सहित यो वर्ष पनि युलेन्स स्कुलसँगको सहकार्यमा ५० जना शिक्षकहरूलाई काठमाडौँ मै ल्याएर ४ दिनको शिक्षण तालिम दिएको छ । यस तालिमले शिक्षण सिकाईलाई थप सहयोग पुग्ने अपेक्षा रहेको प्रिन्सिपल विष्णु प्रसाद ढकालले बताए । तालिम विषयगत र तहगत रूपमा बेग्ला बेग्लै सञ्चालन गरिएको बताए ।


त्यसैगरी स्कुलका एकेडेमिक डाइरेक्टर डा.मिन प्रसाद खनालले स्कुलमा “लर्निङ वाई डुईङ”का आधारमा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षण सिकाई गराई रहेको बताए । उनले यसका लागि शिक्षकहरूलाई प्रशिक्षणमा केन्द्रीत गराईको बताए । साथै विद्यालयका अध्यक्ष योगेश घिमिरेले विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूलाई बालबालिकाको सिकाईमा रहेर पठनपाठन गर्नका लागि त्यसै अनुरूपको प्रशिक्षण दिनुपर्ने र सहज तरीकाले काम गर्न सक्ने वातावरण सिर्जना गनु पर्नेमा जोड् दिए ।