विद्यालयको वार्षिकोत्सवमा पूर्व विद्यार्थीलाई सम्मान

अर्घाखाँची/४ जेठ – अर्घाखाँचीको पाणिनि ७ मा अवस्थित श्री जनसेवा माध्यमिक विद्यालयले ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा पूर्व विद्यार्थीलाई सम्मान गरेको छ । उक्त विद्यालयमा अध्ययन गरी राष्ट्रसेवकको जिम्मेवारी सम्हालेका साथै विदेशमा रहेर सेवा गरिरहेका पूर्व विद्यार्थीलाई सम्मान गरेको हो ।


जसमा त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक डा डॉसुराम पौडेल, इन्जिनियर डा खगेन्द्र बेल्वासे, ऐरादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विक, शिक्षक रविन घिमिरेलगायतलाई विद्यालयको शैक्षिक उन्नयनमा सहयोग गरेको भन्दै सम्मान गरिएको हो ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्बासेले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा विद्यालयलाई आर्थिक सहयोग गर्ने चन्दादाता तथा पूर्व शिक्षकलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मनिराम पराजुली, पाणिनि गाउँपालिका शिक्षा शाखा प्रमुख तेजबहादुर खनाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले विद्यालयको शैक्षिक प्रगतिको प्रशंसा गरेका थिए ।


यसैगरी कार्यक्रममा शिक्षक तथा विद्यार्थीले विभिन्न नृत्य, नाटक प्रस्तुत गरेका थिए । साथै विभिन्न विधामा सफल विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएको थियो ।