रुपन्देही/२० बैशाख – बुटवल उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्यधिक गर्मी र तातो हावा चल्न थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
वार्षिक बिदाबाट कट्टी हुनेगरी बैशाख २० र २१ गते (बिहीबार र शुक्रबार) विद्यालय बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिएका छन् ।
केही दिन दिखि अत्यधिक गर्मी बढ्दै गएको र तातो हावा चल्न थालेपछि विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने सक्ने सम्भावनालाई मध्यनजर गरेर बिदा दिने निर्णय भएको उनले बताए ।
साथै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षा यथावत् सञ्चालन हुने उपमहानगरपालिकाले जनाएको छ ।
बुटवल उपमहानगरपालिकामा संस्थागत ५९ र सामुदायिक ३९ गरी कुल ९८ वटा विद्यालयमा कुल ५५ हजार विद्यार्थी उपमहानगरपालिका क्षेत्रमा अध्ययनरत छन् ।



