काठमाडौँ /२० बैशाख – काठमाडौँ महानगरपालिका भित्रका संस्थागत विद्यालयहरूले कक्षा १ देखि १० सम्म उपलब्ध गराउने छात्रवृत्ति विवरण जेठ २ गतेभित्र उपलब्ध गराउन भनिएको छ । सम्पूर्ण संस्थागत विद्यालयहरूले शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन भनेको हो ।
महानगरले यो वर्ष विद्यालयहरूलाई सजिलोको लागि अनलाईनको व्यवस्था गरेको जानकारी दिँदै उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण विद्यालयलाई इमेल तथा एसएमएस मार्फत उपलब्ध गराइएको युजर नेम र पासवर्ड बाट लग इन गरि पठाउन सकिने जनाएको छ ।
विवरण पेस गर्दा उपलब्ध गराइएको पोर्टल मा २ वटा फर्महरू रहेका छन, एउटामा कक्षागत रूपमा जम्मा विद्यार्थी भर्ना सङ्ख्या र १० प्रतिशतले हुन आउने कक्षागत छात्रवृत्ति सङ्ख्या तथा अर्को फर्ममा छात्रवृत्ति पाउने सम्पूर्ण विद्यार्थीहरूको विवरण भर्नु पर्नेछ ।
साथै नियमअनुसार विवरण पेस नगर्ने विद्यालयहरूलाई काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
गत वर्ष ४ सय ६५ विद्यालयबाट १३ हजार भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका थिए ।