काठमाडौँ /२ बैशाख – नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान आजबाट सुरु भएको छ । विद्यार्थी भर्ना अभियान सफल बनाउन सरोकारवाला पक्षहरूसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल सुरु गरेको छ ।
आइतवार अनलाइन माध्यमबाट भएको छलफलमा शिक्षा मन्त्री, शिक्षा सचिव, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक, मन्त्रालयका अन्य अधिकारीहरू, गाउँपालिका र नगरपालिका महासङ्घका अध्यक्षहरू, स्थानीय सरकारको शिक्षा शाखाका प्रमुखहरू र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरू उपस्थित रहेका थिए ।
छलफलको क्रममा नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियानको लागि शुभकामना व्यक्त गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले तीनै तहको सरकार र समुदायको समेत सक्रिय सहभागिताले मात्रै नयाँ भर्ना र सामुदायिक शिक्षा सुधारको अभियान सफल हुने बताइन । ‘समुदायकै नेतृत्वमा शिक्षक, कर्मचारी, अभिभावक र समाजका प्रबुद्ध वर्गहरूको सक्रिय सहभागितामा विद्यार्थी भर्नाको अभियान गरौँ’ मन्त्री श्रेष्ठले भनिन् ।
समाजको चेतना स्तर र विकासको गति शिक्षाको गुणस्तरले निर्धारण गर्ने भएकाले समाजमा सकारात्मक योगदान दिन सक्ने करुणा र विनम्रतासहितका असल नागरिक बनाउने शिक्षा आवश्यक भएको श्रेष्ठको धारणा थियो । ‘तथ्याङ्कमा आधारित शिक्षा प्रणाली बनाउनुपर्नेछ । विद्यार्थी भर्नासँगै विद्यालयमा विद्यार्थी टिक्ने आधार पनि बनाउनुपर्छ ।’ शिक्षामन्त्री श्रेष्ठले भनिन् ।
यस्तै कार्यक्रममा बोल्दै मन्त्रालयका शिक्षा हेर्ने सचिव सुरेश अधिकारीले विद्यार्थी भर्ना अभियानको अगुवाइ स्थानीय सरकारले नै गर्ने भएकाले मन्त्रालयले सबै किसिमको सहयोग गर्ने धारणा व्यक्त गरे । गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमै पढाउनुपर्ने र त्यसका लागि गाउँपालिका महासङ्घले नेतृत्व लिने प्रतिबद्धता व्यक्त गरिन् । नगरपालिका महासङ्घका अध्यक्ष भीम ढुङ्गानाले बालविकास कक्षामा पाठ्यसामग्री र शिक्षकहरूको समस्या समाधान गर्नुपर्ने बताए ।