काठमाडौँ /२ बैशाख – अघिल्लो शैक्षिक सत्रको अन्त्य र नयाँ शैक्षिक सत्रको सुरुवात सँगै सामाजिक सञ्जाल र पत्रपत्रिकामा अघिल्लो वर्ष हरूको जस्तै शैक्षिक गुणस्तरको बहस सुरु भएको छ । अभिभावकको बुझाईमा कक्षामा राम्रो ग्रेड सहित पास हुनु र विद्यालयको बुझाइमा धेरै विद्यार्थी ग्रेडेड हुनु गुणस्तर हो भन्ने बुझाई देखिन्छ । शिक्षाको गुणस्तर भन्ने कुरा मूलत समाज र देश सापेक्ष हुनु पर्थ्यो ।
हाम्रो देशको लागि मानिने गुणस्तरीय शिक्षा, अर्को देश र परिवेशलाई व्यवहारिक, वैज्ञानिक र माटो सुहाउँदो नहुन सक्छ । गुणस्तरको मापनको आधार खासगरी शिक्षाका राष्ट्रिय उद्देश्य र पाठ्यक्रममा उल्लेखित तहगत सक्षमताहरू हेर्ने हो भने शिक्षाको अहिलेको गुणस्तर परीक्षाबाट प्राप्त नतिजा भन्दा धेरै कमजोर देखिन्छ । खासमा शिक्षाको गुणस्तरको मापन विद्यार्थीले ग्रहण गरेको विषयगत ज्ञान, अभिव्यक्ति सिप, निरन्तर सिकाई तत्परता, सिर्जनशीलता, ज्ञानलाई व्यवहारमा उतार्ने क्षमता, जीवन र समाज प्रतिको बुझाई , कर्मप्रतिको सम्मान, अनुशासन र मर्यादित व्यवहार आदिको आधारमा मापन गर्नु पर्दछ ।
गुणस्तरलाई परीक्षाबाट प्राप्त नतिजालाई आधार मानि गुणस्तर खस्किनुको मुख्य दोषी शिक्षकलाई मात्र देखाउन खोजिएको छ । शैक्षिक गुणस्तर निर्माणमा शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका समान हुन्छ भन्ने कुरा शिक्षाविद्हरूले समेत भुलेको पाइन्छ ।
घर विद्यार्थीहरूको पहिलो पाठशाला हो भने अभिभावक घरमा उसका शिक्षक हुन । विद्यालयमा बालबालिकाले पाठ्यक्रमले निर्देशन गरे बमोजिम औपचारिक शिक्षा लिने अवसर पाउँछन्, विद्यालयको तुलनामा बालबालिकाहरूले घरमा धेरै समय बिताउँछन् । घरमा किताब बाहिरको वा व्यवहारिक ज्ञान लिने गर्दछन् । घरको वातावरणले विद्यालयको पढाईमा समेत प्रभाव पारिरहेको हुन्छ भन्ने कुरा हामीले बिर्सिएका हुन्छौँ । अभिभावकले आफ्नो बालबालिकालाई चाहिने शैक्षिक सामग्री उपलब्ध गराई विद्यालय पठाउनुलाई मात्र कर्तव्य ठान्नु हुँदैन । उसले छोराछोरीको शैक्षिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ । यसका लागि घरमा पढ्ने समय निर्धारण गर्ने, मोबाइल, टेलिभिजन चलाउने समय र यसको सदुपयोग वा दुरुपयोग के गरेको छ हेर्नु पर्दछ । फुर्सदमा घरको काम पनि सिकाउनु पर्दछ । सबैभन्दा महत्वपूर्ण घरमा बालबालिकालाई शिष्टाचार, नैतिकता र अनुशासन सिकाउनु पर्दछ ।
शिक्षाको गुणस्तरको लागि अर्को पक्ष विद्यार्थी हो । विद्यार्थी काँचो माटो भएकाले शिक्षा प्रति उसको धारणा कस्तो बनाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ । विद्यार्थीको शिक्षाप्रति सकारात्मक धारणा परिवर्तन गर्न शिक्षक र अभिभावक दुवैको महत्वपूर्ण भूमिका रहन्छ । विद्यार्थीले विद्यालय, शिक्षकप्रति सकारात्मक धारणाको विकास गर्न सकेमा मात्र सिकाईमा सरिक हुनसक्छ ।
घरमा अभिभावकबाट, त्यो विद्यालय त यस्तो हो नी, उस्तो हो नी, त्यो शिक्षकले यस्तो गरेको थियो, यस्तो गर्छ भन्ने खालको नकारात्मक कुरा सुनेर विद्यार्थीको विद्यालय प्रति नकारात्मक धारण बस्न पुग्छ र विद्यालय र पढाइप्रति रुचि घट्छ । घरको वातावरण राम्रो नहुनु, आमाबाबुलाई पनि फुर्सदको समयमा बालबालिका भन्दा बढि मोबाइलमा ध्यान हुनु, धेरै बालबालिकालाई सामाजिक सञ्जाल र अनलाइन गेमको लत वस्नु आदि कारणले विद्यार्थीको पढाइप्रति रुचि कम हुनगई शिक्षाको गुणस्तर खस्केको हुनसक्छ ।
शिक्षाको गुणस्तर सुधारको लागि अर्को पक्ष शिक्षक पनि हो । विद्यार्थीको मात्र धारणामा परिवर्तन गरेर हुँदैन । शिक्षकको पनि धारणा सकारात्मक हुनुपर्छ । शिक्षकले विद्यार्थी र विद्यालयप्रति उत्तरदायी हुनु पर्दछ । विद्यालयको लागि समय दिन सक्ने खालको हुनु पर्दछ । त्यस्तै, शिक्षकले विद्यार्थीको उमेर, क्षमता, स्तर, रुची अनुसार उपलब्ध शैक्षिक सामग्री प्रयोग गरी बालबालिकालाई केन्द्रमा राखि सिकाई सहजिकरण गर्नु पर्दछ । शिक्षक नियमित रूपमा विद्यालय उपस्थित हुनु र समयमा कक्षा कोठामा प्रवेश गरी पूरा समय पढाउने गर्नु पर्दछ ।
शिक्षकको प्रयासका भरमा मात्र शैक्षिक गुणस्तर बढाउन सकिन्छ भन्नु, मूर्खता मात्र हो । यसको लागि घरको वातावरण, अहिलेको सामाजिक परिवेशलाई पनि हेर्नु पर्दछ । सिकाईको लागि विद्यार्थीमा लगनशीलता, अनुशासन र तत्परता अपरिहार्य हुनु पर्दछ । विद्यार्थीमा लगनशीलता अनुशासन र तत्परता दिन प्रतिदिन खस्किँदो क्रममा छ । यसकारण शिक्षाको गुणस्तर पनि खस्किँदो क्रममा छ । नियमित विद्यालय जानु, विद्यालयको गृहकार्य नियमित गर्नु अर्को पक्ष हो । विद्यार्थी जहाँ–जहाँ गएर ठोकिन्छ वा घुलमिल हुन्छ त्यस ठाउँको वातावरण शैक्षिक खालको हुनु आवश्यक छ ।
धेरैजसो विद्यार्थीमा पढेर के हुन्छ ? भन्ने धारणा छ, जसलाई शिक्षकको एक्लो प्रयासबाट मात्र परिवर्तन गर्न सकिएको छैन । मात्र शिक्षकले यसो गरि दिए विद्यार्थी सफल हुन्छ भन्ने भ्रम पाल्नु सहि हुँदैन । शिक्षक कुनै जादुगर हैन, जसले चुट्कीको भरमा शैक्षिक गुणस्तर बढाउन सक्दैनन् । शैक्षिक सत्रको सुरुवातसँगै शैक्षिक गुणस्तर अभिवृद्धिमा शिक्षक, अभिभावक र विद्यार्थी सबैले मिलेर प्रयास गर्ने हो भने शिक्षाको गुणस्तर साथसाथै परीक्षाको नतिजामा पनि सुधार अवश्य आउनेछ ।
(तीर्थ राज भट्ट महेन्द्र शिखरी मा.वि, मोदी–५ पर्वतका शिक्षक हुन् ।)