काठमाडौँ /२१ चैत – अटिजम भएका बालबालिकाहरूलाई विशेष शिक्षा दिनका लागि काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र अटिजम केयर नेपाल सोसाइटीबिच सम्झौता गरिएको छ । बालबालिकाको आवश्यकता अनुरूप शैक्षिक कार्यक्रम विकास गर्नुका साथै दुवै संस्थाको स्रोत र विशेषज्ञताको उपयोग गर्ने उदेश्यले सम्झौता गरिएको हो ।
सहकार्यले नेपालमा समावेशी शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न अवसर प्रदान गर्ने र समावेशी विशेष शिक्षा कार्यक्रमलाई सुदृढ गर्ने लक्ष्य राखिएको छ ।
विश्वविद्यालयका डिन डा. बालचन्द्र लुइटेलले दुई संस्थाको साझेदारीले विशेष आवश्यकता भएका बालबालिकाको आवश्यकता अनुरूप १ वर्षीय (पिजिडिइ) शैक्षिक कार्यक्रम विकास गर्ने बताए । साथै दुवै संस्थाको स्रोत र विशेषज्ञताको उपयोग गर्ने र सहकार्यले संयुक्त रूपमा शैक्षिक कार्यक्रमहरू, पाठ्यक्रम, शैक्षिक पहलहरू, अटिजम भएका बालबालिकाहरूको सिकाइ, मूल्याङ्कनका प्रभावकारी मोडेलहरू र आवश्यकताहरू पूरा गर्ने विषयलाई सहकार्यले जोड दिने बताए ।
अटिजम केयर नेपाल सोसाइटी अध्यक्ष सुनिता मलेखुले यस सम्झौताले समावेशी र विशेष शिक्षा कार्यक्रमहरूको विकासका लागि शैक्षिक गतिविधिहरू नयाँ मोड लिने बताईन ।
अटिजम केयर नेपाल सोसाइटीले अटिजम भएका बालबालिकाहरूलाई विशेष शिक्षा सेवा र पुनर्स्थापना सेवाहरू प्रदान गर्न र अटिजम भएका व्यक्तिहरूको हेरचाह गर्न अभिभावकहरूद्वारा सञ्चालित गैर सरकारी संस्था हो ।