काठमाडौँ /२० चैत – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दीपक गिरीले विद्यार्थीले विद्यालय छोड्ने दर (ड्रप आउट रेट) बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै विद्यार्थीले विद्यालय छोड्ने दर बढेको बताएका हुन् ।
उनले यस विषयमा सरकार गम्भीर नभएको आरोप लगाउँदै १० वर्षको अवधिमा एसईई दिने विद्यार्थीको सङ्ख्या घटेको बताए । गिरिले २०७० सालमा करिब १० लाख विद्यार्थी भर्ना भए पनि एसईईसम्म आइपुग्दा करिब पाँच लाख विद्यार्थीले मात्र परीक्षा दिएको बताउँदै यसलाई ‘शैक्षिक सङ्क्रमणकाल’को संज्ञा दिए ।
त्यसैगरी सांसद नागिना यादव, नारायणी शमाले पनि ‘ड्रप आउट रेट’ बढ्दा सरकार मौन रहेको भन्दै प्रश्न गरे । साथै उच्च शिक्षाका नाममा योग्य र दक्ष जनशक्ति बाहिरिने क्रम बढेकोले यसलाई रोक्न शिक्षामा लगानी बढाउनुपर्नेमा जोड् दिए ।



