शिक्षक सेवा आयोगको परीक्षामा सोधिने प्रश्नमाथि अध्ययन भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ /२१ चैत – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षक सेवा आयोगले कस्ता प्रश्न सोध्ने गरेको छ अध्ययन भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको आकस्मिक, शून्यमा बोल्दै सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै शिक्षकको अनुमतिपत्र तथा सेवा आयोगको परीक्षामा सोधिने प्रश्नहरूमाथि अध्ययन भइरहेको बताइन ।


उनले भनिन “शिक्षक सेवा आयोगको लाइसेन्सको परीक्षा दिएर वा १० महिने तालिम लिएर शिक्षक बन्न सक्ने प्रावधानलाई के गर्न सकिन्छ कार्यदल बनाएर काम अगाडी बढाइएको छ । एआईको जमानामा शिक्षकहरू कस्तो खालको आइरहेका छन् भनेर विज्ञसम्मिलित समिति बनाएर अध्ययन गर्ने काम गरेको छौँ । समितिले आयोगले बनाएको पाठ्यक्रममा परिमार्जन गर्नु पर्ने के के छ ? हामीले कस्तो शिक्षक ल्याइ राखेका छौँ ? शिक्षकहरूलाई कस्तो प्रश्न सोध्दै छौँ ? अहिलेसम्म शिक्षक सेवा आयोगको परीक्षा दिनेका लागि शिक्षण विधिका बारेमा सोधिएको तर कक्षा कोठामा गरिने पठनपाठनका बारेमा प्रश्न सोधिएको देखिएको छैन । यसलाई अध्ययन गरेर अगाडी बढ्ने तयारीमा छौँ ।”


त्यसैगरी श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका केही उत्तरपुस्तिका हराएको सवालमा समिति बनाएर छानबिन भइरहेको बताएकी छन् । उनले प्रतिनिधिसभामा यही चैत १ देखि २० गतेसम्म शिक्षा मन्त्रालयसँग सम्बन्धित ४५ वटा प्रश्न तथा धारणा उठेको बताउँदै इन्जिनियरिङको परीक्षा तालिका परिवर्तन भएको विषयमा पनि छानबिन समिति बनाएर अध्ययन भइरहेको बताइन । त्रिविकै नर्सिङको विद्यार्थीहरूले तालाबन्दी गरेको विषयमा विद्यार्थी र चिकित्सा शिक्षा आयोगका पदाधिकारी, विश्वविद्यालयका उपकुलपति र नर्सिङ काउन्सिलका पदाधिकारीहरूसँग बसेर समाधान गरिएको बताइन ।


साथै नेपालमा थप मेडिकल कलेज खोलेर विदेशी विद्यार्थी ल्याउन सकिने/नसकिने विषयमा गृह मन्त्रालयसँग छलफल भइसकेको शिक्षामन्त्री श्रेष्ठले बताइन् । उनले अहिले नेपालमा आउने विदेशीलाई पर्यटक र गैर–पर्यटन भनेर छुट्याइने गरेको बताउँदै अध्ययनका लागि आउनेहरूका विषयमा पनि के गर्न सकिन्छ अध्ययन तथा छलफल भइरहेको जनाइन ।

मन्त्री श्रेष्ठले एसईई दिने विद्यार्थीलाई शुल्क नबुझाएकै कारण परीक्षाबाट वञ्चित गरिएको भन्ने बारे सांसदको प्रश्नमा एसईई दिने विद्यार्थी ७५ प्रतिशत भन्दा कम विद्यालयमा हाजिर नभएको भए परीक्षामा सहभागी हुन नपाउने कानुनी व्यवस्था रहेको जानकारी दिँदैँ विद्यार्थीले पढाइ शुल्क बुझाउन नसकेका कारण परीक्षामा सम्मिलित हुन नपाएको भन्ने जानकारी दिए तुन्तै कारबाही गरिने बताइन ।