काठमाडौँ/१७ चैत–यो वर्षको एसईई परीक्षा चैत १५ गतेदेखि सुरु भइसकेको छ । राष्ट्रिय परीक्षा बोर्डको तालिका अनुसार गणित विषयको परीक्षा चैत १८ गते आइतवार हुँदैछ । एसईई दिइरहेका सबै विद्यार्थीलाई परीक्षामा धेरै नम्बर ल्याउने रहर हुन्छ नै । तर, सामान्य कुरामा पनि ध्यान दिन नसक्दा वा वास्तै नगर्दा आफूले सोचेको जस्तो नम्बर नआएको विद्यार्थीले बताइरहेका हुन्छन् । विद्यार्थीहरूलाई कहाँ गल्ती भयो पत्तो हुँदैन । यो वर्ष राष्ट्रिय परीक्षा बोर्डले गणित र विज्ञान विषयको परीक्षाको अघिल्लो दिन परीक्षा सञ्चालन नगर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । नयाँ पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन भई रहेको छ । धेरै विद्यार्थीहरूलाई गणित विषय गाह्रो हुने गरेकोले अघिल्लो दिन परीक्षा नराखिएको हो र त्यसै अनुसार तालिका सार्वजनिक गरको हो ।
विद्यार्थीलाई गणित विषय कसरी अध्ययन गर्ने, आफूले कसरी बुझेर पढ्ने र परीक्षा हलमा गईसकेपछी उत्तरपुस्तिकामा कसरी लेख्ने भन्ने जानकारी नहुँदा पनि नम्बर कम आउने गरेको देखिन्छ । एसईईको परीक्षामा सहभागी भएका विद्यार्थीहरूलाई गणित विषयको तयारीका बारेमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टिम विभागका प्रमुख उपप्राध्यापक विनोद प्रसाद पन्तले दिएका सुझाब यस्ता छन् ।
१. विद्यार्थीको गणितीय ज्ञान, बोध, प्रयोग र उच्च दक्षता मापन गर्नका लागि जम्मा ४९ वटा प्रश्नहरू सोधिन्छन् । सरसर्ती हेर्दा प्रश्नहरू धेरै जस्तो देखिएता पनि ३ घण्टामा समाधान गर्न सकिने गरि नै निर्माण गरिएका हुन्छन् । नआत्तिकन प्रश्नहरूको समाधान गर्नुहोस् ।
२. सबै भन्दा महत्वपूर्ण पक्ष भनेको यो वर्ष एसईईको गणित विषयमा सन्दर्भ दिएर प्रश्न निर्माण गरिएको हुन्छ । सन्दर्भलाई राम्ररी बुझेर मात्र उप प्रश्नहरू समाधान गर्नुहोस् ।
३. उप प्रश्नहरूमा सोधिएका प्रश्नहरू एक आपसमा सम्बन्धित हुन पनि सक्छन् । जस्तै पहिलो उप प्रश्नको उत्तर दोस्रोको लागि काम लाग्न पनि सक्छ ।
४. प्रयोग र उच्च दक्षता तहका प्रश्नहरू सम्बन्धीत क्षेत्रका अलावा अन्य क्षेत्रका विषयवस्तुसँग सम्बन्धीत प्रश्नहरू पनि रहन सक्दछन् । जस्तै एउटै सन्दर्भमा रहेर अङ्कगणित र विजगणितका प्रश्नहरू पनि सोध्न सकिनेछ । यस्तो अवस्थामा सन्दर्भ बुझेर प्रश्नहरूको समाधान गर्नुहोस ।
५. गणितका विभिन्न पाठहरू मध्ये तपाई कुन पाठका समस्याहरू समाधान गर्न सहज महसुस गर्नुहुन्छ, कुन पाठका समस्याहरू समाधान गर्न ठिक ठिकै वा कठिन महसुस गर्नुहुन्छ, त्यस अनुसार तयारीको योजना निर्माण गर्नुहोस् । योजना निर्माण गर्दा कुनै विषय वस्तु तपाईलाई अतिनै कठिन लाग्दछ र यस भन्दा अगाडी पनि धेरै समय दिँदा पनि बुझ्न सक्नु भएको छैन भने परीक्षाको अघिल्लो दिन त्यसैलाई समय दिनु भन्दा अन्य विषय वस्तुमा ध्यान केन्द्रीत गर्नु वुद्धिमता हुन्छ ।
६. गणितका समस्याहरू समाधान गर्दा आवश्यक पर्ने सुत्रहरू राम्ररी बुझ्नुहोस् । सुत्रहरू नबुझिकन कण्ठस्त मात्र पार्दा परीक्षा हल भित्र पसेपछि नौलो परिवेशमा कुनै कारणले सुत्रहरू बिर्सियो भने एकै छिनमा निर्माण गर्न सक्ने हुनु राम्रो हुन्छ । उदाहरणको लागि कतिपय विद्यार्थीहरूले एकपट्टी तिखारेको सिसाकलम वा दुवैतर्फ तिखारेको सिसाकलमको पुरासतहको क्षेत्रफल पत्तालगाउने तरिका एउटै सुत्रजस्तो बनाई कण्ठस्त पारेको देखिन्छ । त्यो राम्रो तरिका होइन । दुवैतर्फ तिखारेको सिसाकलममा एउटा बेलना र दुईवटा सोली आकार हुन्छ भन्ने बुझेमा सजिलैसँग समस्या समाधान गर्न सकिन्छ ।
७. प्रश्नपत्र हेरिसकेपछि जुन प्रश्नहरूमा आफू सहज महसुस गर्नुहुन्छ, त्यसबाट सुरु गर्नुहोस् । तपाईलाई अप्ठ्यारो लाग्ने प्रश्नको समाधानमा सुरुमै प्रयास गर्दा पछि समय अभावले आफूलै सहजै गर्न सकिने प्रश्नहरू पनि समाधान गर्न समय अपुग हुनसक्छ ।
८. परीक्षामा प्राप्त गर्ने अंकको दृष्टिकोणले हेर्दा १ अंकको ४ ओटा प्रश्नहरू समाधान गर्नु र २ अंकको २ ओटा प्रश्न समाधान गर्नु एउटै कुरा हो । कुनै वेला १ अंकको प्रश्नहरू समाधान गर्न पनि धेरै समय लाग्न सक्दछ । त्यस्तो अवस्थामा २ वा ३ अकंको प्रश्नतिर जादा राम्रो हुन्छ ।
९. कुनै प्रश्नको समाधानको प्रयास गर्दा हल गर्न सकिएन भने पनि नआत्तिकन त्यस समस्यालाई अर्को तरिकाबाट पनि समाधान गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ प्रयास गर्ने । अर्को पटक प्रयास गर्दा पनि समाधान गर्न सकिएन भने त्यसलाई छोडेर अर्काे प्रश्नतिर जाने । पछि समय बाँकी रहेमा फेरी उक्त प्रश्न समाधान गर्न प्रयास गर्ने ।
१०. परीक्षामा आफूलाई आवश्यक पर्ने सबै सामानहरू लिएर जाने ।
सबैलाई परीक्षाको शुभकामना ।