विद्यालयका लेखापाल र व्यवस्थापन समितिका अध्यक्ष विरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ /१६ चैत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका लेखापाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपर भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।


दाङको वेला गा.वि.स.–१ मा रहेको श्री जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल चूडामणि पोख्रेल र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जगदीश चौधरी उपर मुद्दा दायर गरेको हो ।


आयोगले आज विशेष अदालत काठमाडौँमा उनीहरु उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दा दायर गरेको जनाएको छ । उनीहरुले विद्यालयमा शैक्षिक सत्र २०७२ र २०७३ मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट निजी श्रोत शिक्षकलाई तलब खुवाउने बहानामा विभिन्न शीर्षकमा चर्को शुल्क लिई अनियमितता गरेको भन्ने उजुरी
तत्कालीन लेखापाल चूडामणि पोख्रेलले आ.व. २०७२/०७३ मा लेखा श्रेस्ता दुरुस्त नराखेको, रसिद अनियन्त्रित रुपमा प्रयोग भएको, कतिपय अवस्थामा रसिदको प्रयोग नगरी रकम लिएको, विद्यार्थीहरुबाट दोब्बर दस्तुर लिएको, रसिदमा उल्लेख गरेकोभन्दा बढि रकमसमेत लिने गरेको, राखेको लेखा श्रेष्ताले स्पष्ट विवरण दिन नसकेको, रसिद नियन्त्रण खाता नभएको, कुनै कारोबारमा रसिद प्रयोग नगरी कागजको चिटको भरमा रकम उठाएको, विद्यार्थीबाट उठेको रकम मनोमानी खर्च गरेको पाइएको आयोगले जनाएको छ ।


साथै तत्कालीन समयमा छानबिन समितिले विद्यालयको आ.व. ०७२/७३ को आयव्ययको विवरण सार्वजनीकरण गर्ने बैठकमा सामेल भई हस्ताक्षर गरेको र अभिभावक सहितको बैठकमा उक्त प्रतिवेदन अनुमोदन भएकोमा पोख्रेलको नाममा बेरुजुसमेत देखाएको र सो बैठकमा आफूसमेत सामेल भएर निर्णय स्वीकार हस्ताक्षर गरेको, बचत रहेको रु.८,९२,२६७।७० बराबरको रकम विद्यालय व्यवस्थापन समितिलाई कुनै पनि हिसाब नदेखाएको र बैंकमा डिपोजिट पनि नदेखिएकोले पोख्रेल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।


त्यसैगरी विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीले आफूखुसी चेक काटी रकम निकासा गरेको, तर उक्त चेक के का लागि काटिएको भनी उल्लेख नभएको र निकासा भएको रकमको खर्चको विवरणसमेत नराखेको, विद्यालयको आ.व. २०७२/०७३ को लेखा परीक्षण प्रतिवेदनमा समेत प्रतिवादीले आफ्नो नाममा रु.२,२०,०००/– चेक काटी रकम झिकेको तर के का लागि भनी नखुलेको देखिए पछि चौधरीले उक्त रकम हिनामिना गरेको पुष्टि भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।