प्रारम्भिक बालविकास तथा शिक्षा र नीतिगत व्यवस्था

काठमाडौँ /१२ चैत – प्रारम्भिक बालविकास मानव जीवनको एक त्यस्तो अवस्था हो जुन सरसर्ती हेर्दा सामान्य जस्तो लाग्ने तर मानव जीवनको सबैभन्दा महत्वपूर्ण र जीवनको पूर्वाधार निर्माणको आधार हो । प्रारम्भिक बाल्यावस्थामा नै मानव जीवनका लागि आवश्यक पर्ने सर्वाङ्गीण पक्षको विकास भइ सक्नु पर्ने हुन्छ । तसर्थ प्रारम्भिक बाल्यावस्था (गर्भावस्थादेखि ८ वर्षसम्मको उमेर) मा नै बालबालिकाका लागि आवश्यक स्वास्थ्य, पोषण, सुरक्षा तथा संरक्षण लगायतका सुविधा उपलब्ध गराइ उनीहरूको बृद्धि र विकासमा प्रभावकारिता ल्याउनु अत्यावश्यक हुन्छ ।


प्रारम्भिक बालविकास तथा शिक्षा भन्ने बित्तिकै यसलाई हामीले २ भागमा छुट्याएर हेर्नु जरुरी हुन्छ । पहिलो प्रारम्भिक बालविकास र दोस्रो प्रारम्भिक बाल शिक्षा ।


यसरी हेरिसकेपछि सर्वप्रथम चर्चा गरौँ प्रारम्भिक बालविकास के हो ?


प्रारम्भिक बालविकास भन्नाले गर्भावस्थादेखि ८ वर्षसम्मका बालबालिकाको सर्वाङ्गीण विकास (शारीरिक, सामाजिक, बौद्धिक, संवेगात्मक र भाषिक) का लागि आवश्यक स्वास्थ्य, पोषण, सुरक्षा तथा संरक्षण लगायतका सुविधा उपलब्ध गराइ उनीहरूको बृद्धि र विकासमा प्रभावकारिता ल्याउनु हो ।


प्रारम्भिक बाल शिक्षा के हो ?


चार वर्ष पूरा भएका बालबालिकालाई कक्षा १ मा प्रवेश गर्नुभन्दा पहिला दिइने १ वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित शिक्षालाई प्रारम्भिक बाल शिक्षा मानिएको छ । प्रारम्भिक बाल शिक्षा कार्यक्रम विभिन्न स्वरूप तथा अवधिमा सञ्चालन गर्ने प्रचलन भए पनि नेपालमा चार वर्षका बालबालिकाका लागि एक वर्ष अवधिको प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रम सञ्चालन गरिने नीतिगत व्यवस्था छ । प्रारम्भिक बाल शिक्षाको मुख्य कार्य विद्यालय जाने उमेर पूर्वका बालबालिकाको सर्वाङ्गीण व्यक्तित्व विकासमा सहयोग गर्नुका साथै विद्यालय शिक्षामा प्रवेशका लागि तयारी गराउनु हो ।


अब यी दुवै पक्षलाई समग्रमा हेर्दा प्रारम्भिक बाल विकास र शिक्षाको मुख्य लक्ष्य नै बालबालिकाको सर्वाङ्गीण विकास गराउँदै सिकाइको लागि आधारशिला निर्माण गर्नु रहेको छ । यसका सक्षमताहरूमा सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता, पोषणयुक्त खाना र स्वस्थकर बानी विकास, वैयक्तिक सुरक्षाका उपायहरू अवलम्बन, सरसफाइ र सामाजिक बानी व्यवहारको अवलम्बन, सिर्जनात्मक सोचको विकास र भाषिक तथा सञ्चार सिपको विकास रहेका छन् ।


प्रारम्भिक बालविकास तथा शिक्षाको महत्व :


कुनै पनि बालबालिकाको प्रारम्भिक बालविकास उमेरमा पाएको अवसर र वातावरणले उनीहरूको विकासको दरलाई निर्धारित गर्दछ । बालबालिकामा उमेर अनुरूप क्रमिक रूपमा शारीरिक, संवेगात्मक र बौद्धिक विकास भएको हुन्छ । यसै विकास प्रक्रियालाई ध्यानमा राखेर बालबालिकाको सर्वाङ्गीण विकासको लागि उनीहरूको उमेर अनुसारको सेवा, स्वास्थ्य, सुरक्षा र पोषणको सुनिश्चितता हुनु आवश्यक छ । प्रारम्भिक बालविकासको समग्र उमेरलाई गर्भावस्थादेखि जन्म, जन्मदेखि २४ महिना, २४ महिनादेखि ४८ महिना, ४८ देखि ६० महिना, तथा ६० देखि ९६ महिनाका रूपमा विभाजन गरी सोही अनुरूपको उमेरका बालबालिकालाई आवश्यक पोषण, स्याहार, सेवा र सुरक्षालाई मध्येनजर राखेर कार्यक्रम सञ्चालन गरिएको छ ।


प्रारम्भिक बालविकास तथा शिक्षाको प्रमुख चुनौतीहरू :


१. प्रारम्भिक बालविकास तथा शिक्षा उमेर समूहका सबै बालबालिकाहरू विशेष गरी सीमान्तकृत तथा भौगोलिक विकटता भएका क्षेत्र र अपाङ्गता भएकाहरूलाई प्रारम्भिक बालविकास र शिक्षामा पहुँच पु¥याउने ।
२. सबै प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्रमा न्यूनतम मापदण्ड पुरा गर्ने ।
३. प्रारम्भिक बालविकास तथा शिक्षाका शिक्षकहरूको पारिश्रमिक वृद्धि, वृत्ति विकास तथा क्षमता विकास गर्ने ।


प्रारम्भिक बालविकास तथा शिक्षाका क्षेत्रमा सङ्घीय तहका विभिन्न मन्त्रालय/निकायको भूमिका :


प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रम बहुआयामिक कार्यक्रम भएको हुँदा कुनै एक पक्ष वा एक निकायले मात्र सञ्चालन गर्ने विषय हैन तसर्थ यसका लागि तीनै तहका सरकार र विभिन्न मन्त्रालयहरूले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । प्रारम्भिक बालविकास तथा शिक्षा भित्र बालबालिकाको शिक्षा स्वास्थ्य पोषण सुरक्षा र सरसफाइ लगायतका विविध कार्यक्रमहरू पर्ने हुँदा यसको जिम्मेवारी पनि विभिन्न अलग अलग मन्त्रालयसँग जोडिएको हुन्छ ।


उमेर समूहका आधारमा प्रमुख जिम्मेवारी :


क) गर्भावस्थादेखि २ वर्षसम्म – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ।
ख) २ देखि ४ वर्षसम्म – महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय/सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ।
ग) ४ देखि ८ वर्षसम्म – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ।


प्रारम्भिक बालविकासका क्षेत्रमा निभाउने पर्ने र तोकिएका अन्य जिम्मेवारी :


१) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय :
क) गर्भावस्थादेखि नै नवजात शिशु तथा प्रारम्भिक बालविकासको उमेरसम्मका सबै बालबालिकाको लागि आवश्यक स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रम – गर्भवती महिलाको स्वास्थ्य जाँचको व्यवस्था, विभिन्न रोगहरू विरुद्ध खोप कार्यक्रम सञ्चालन, आइरन फोलिक एसिड वितरण, शिशुको सुरक्षित जन्मको लागि स्वास्थ्य संस्थामा सुत्केरी गराउने सुविधा तथा प्रोत्साहन भत्ताको व्यवस्था साथै शिशुको जन्मपछिको अवस्थामा समेत स्वास्थ्य जाँचका लागि प्रोत्साहनको व्यवस्था ।
ख) गर्भवती महिला र प्रारम्भिक बालविकास उमेरका बालबालिकाको लागि पूर्ण खोपको व्यवस्था गर्ने ।
ग) गर्भवती महिला र प्रारम्भिक बालविकास उमेरका बालबालिकाको खाद्य तथा पोषण सुरक्षाको व्यवस्था गर्ने ।


२) गृह मन्त्रालय :
क) सबै बालबालिकाको जन्मदर्ता गर्ने गराउने ।
ख) एकीकृत प्रारम्भिक बालविकासका लागि एकीकृत तथ्याङ्कको प्रवर्धन गर्ने ।
ग) विपद् न्यूनीकरण तथा व्यवस्थापनमा प्रारम्भिक उमेरका बालबालिका तथा गर्भवती महिलाका लागि विशेष व्यवस्था गर्ने ।
घ) बालसंरक्षरण र सुरक्षण प्रणाली सुदृढीकरण गर्ने गराउने ।
ङ) विपद् व्यवस्थापनको पूर्वतयारी गरी विपदबाट हुने हानी नोक्सानीमा कमी गर्ने ।


३) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय :
क) स्थानीय प्रादेशिक र सङ्घीय तहको नीति तथा योजनामा प्रारम्भिक बालविकास सम्बन्धी विषय प्राथमिकताका साथ समावेश गर्ने गराउने ।
ख) सरकारका तीनै तहमा प्रारम्भिक बाल विकास सम्बन्धी आवश्यक सेवाको सूचना÷तथ्याङ्क अद्यावधिक गर्ने गराउने ।
ग) सबै स्थानीय तहमा प्रारम्भिक बालविकासका लागि आवश्यक पूर्वाधारको मापदण्ड लागु गर्ने गराउने ।
घ) स्थानीय तहमा आवश्यकताको आधारमा उमेर अनुसार सबै बालबालिकालाई प्रारम्भिक बालविकास कार्यक्रमको सेवा उपलब्ध गराउने ।


४) महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय :
क) प्रारम्भिक बालविकास उमेरका सबै बालबालिकालाई प्रारम्भिक बालविकास तथा स्याहारको अवसर उपलब्ध गराउने ।
ख) प्रारम्भिक बालविकास उमेरका बालबालिकाको सुरक्षा, संरक्षण र बालविकास तथा सिकाइ पद्धतिको सुदृढीकरण गर्ने ।
ग) किशोरी अवस्थामा हुने गर्भधारण सङ्ख्यामा न्यूनीकरण गर्ने ।
घ) स्थानीय तहका संयन्त्रहरूबाट बालबचाहट, सुरक्षा र संरक्षणमा सुधार गर्ने ।
ङ) अभिभावक सहजकर्ता शिक्षक र अन्य वयस्कहरूमा बालअधिकार र विकाससम्बन्धी व्यवहारमा परिवर्तन ल्याई बालबालिकाप्रति हुने शारीरिक तथा मानसिक हिंसामा कमी ल्याउने ।
च) अपाङ्गता भएका गर्भवती महिला तथा प्रारम्भिक बालविकास उमेरका बालबालिका लक्षित ।
छ) सेवाको पहुँचमा बृद्धि गर्ने ।


५) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय :
क) प्रारम्भिक बालविकास उमेरका सबै बालबालिकालाई प्रारम्भिक बालविकास तथा शिक्षाको अवसर उपलब्ध गराउने ।
ख) प्रारम्भिक बाल विकास तथा शिक्षाको उमेरका सबै बालबालिकाको लागि प्रारम्भिक बाल शिक्षा तथा सिकाइको मापदण्ड र पाठ्यक्रम लागु गर्ने ।
ग) प्रारम्भिक बालविकास तथा शिक्षालाई प्रभावकारी बनाइ गुणस्तर कायम गर्न आवश्यक दक्ष मानव स्रोतको व्यवस्थापन र परिचालन गर्ने ।
घ) अभिभावक र परिवारका सदस्यहरूको बालबालिकाप्रति गरिने व्यवहारमा परिवर्तन ल्याउन अभिभावक शिक्षाको व्यवस्था गर्ने ।


प्रारम्भिक बालविकासका क्षेत्रमा भएका नीतिगत व्यवस्था :
हालसम्मका व्यवस्थाहरू :
– नेपालको संविधान २०७२
– राष्ट्रिय शिक्षा नीति २०७६
– पन्ध्रौँ आवधिक योजना
– शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९
– अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ तथा नियमावली २०७७ ।
– प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति, २०७७ – २०८८


नीतिगत व्यवस्था :
१. नेपालको संविधान २०७२ भाग

अ) ३ धारा ३१ शिक्षा सम्बन्धी हक :
क) प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ ।
ख) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुनेछ ।


आ) धारा ३९ बालबालिकाको हक :
क) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा स्वास्थ्य पालनपोषण उचित स्याहार खेलकुद मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ ।
ख) प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ।


इ) धारा ५१ राज्यका नीतिहरू :
बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिक रूपमा ध्यान दिइनेछ ।


२. पन्ध्रौँ योजना :
उद्देश्य :
प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रमलाई विद्यालय शिक्षाको अभिन्न अंगको रूपमा विकास गरी यसलाई सबै बालबालिकाका लागि अनिवार्य गर्ने ।


लक्ष्य :
सबै बालबालिकालाई प्रारम्भिक बाल शिक्षाको अनुभव सहित आधारभूत शिक्षा अनिवार्य र निःशुल्क गर्ने ।


रणनीति :
प्रारम्भिक बालबालिकालाई प्रारम्भिक बाल शिक्षाको अनुभवसहित आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क बनाउने ।


कार्यनीति :
क) कम्तीमा एक विद्यालय एक बालविकास केन्द्रको अवधारणा अन्तर्गत स्थानीय तह मार्फत बालविकास केन्द्रहरूको पुनर्वितरण गरी सङ्घीय सरकारबाट हाल दिइदै आएको अनुदानलाई निरन्तरता दिदैँ प्रदेश तथा स्थानीय तहबाट समेत लगानी गरी बालविकास केन्द्रको विकासका लागि लागत साझेदारी गरिनेछ ।
ख) प्रारम्भिक बाल विकास तथा शिक्षाका शिक्षकको न्यूनतम शैक्षिक योग्यता र तालिम अवधिको पुनरावलोकन गरी योग्य शिक्षकबाट सेवा प्रवाह हुने व्यवस्था गरिनेछ ।
ग) प्रारम्भिक बाल कक्षामा निर्धारित मापदण्ड अनुरूप बसाइ व्यवस्था र सरसफाइलाई ध्यान दिई खेल सामग्री अडियो भिडियो सामग्री सहित आकर्षक मनोरञ्जन र बालमैत्री कक्षा कोठा व्यवस्थापन गर्ने ।


३. अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ :
प्रारम्भिक बालविकास तथा शिक्षा भन्नाले चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित बाल विकास तथा शिक्षा सम्झनु पर्छ ।


४. शिक्षा नीति, २०७६
उद्देश्य :
बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित प्रारम्भिक बालविकास तथा शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनु ।


रणनीति :
क) उपयुक्त पूर्वाधार सहितको बालमैत्री वातावरण सुनिश्चित गरी प्रारम्भिक बालविकासको अवसर विस्तार गर्ने ।
ख) तीनै तहका सरकार र अभिभावकको साझेदारीमा बालबालिकाहरूको सर्वाङ्गीण विकास एवम् विद्यालय शिक्षाको पूर्वतयारीका लागि कम्तीमा १ वर्षको प्रारम्भिक बालविकासको अवसर प्रदान गर्ने ।


कार्यनीति :
क) नेपाल सरकारले तोकेको सर्त तथा मापदण्ड पालना गर्ने गरी स्थानीय तहको अनुमति वा स्वीकृतिमा सरकारी, गैरसरकारी, सामुदायिक वा निजी लगानीमा बालमैत्री तथा पूर्वाधारयुक्त प्रारम्भिक बालविकास कक्षा र बालविकास तथा स्याहार केन्द्रको व्यवस्थापन गरी बालविकास कार्यक्रम सञ्चालन गर्ने ।
ख) चार वर्ष उमेर पुगेका बालबालिकाका लागि तोकिएको न्यूनतम मापदण्डको आधारमा नेपाल सरकार र प्रदेश सरकारको अनुदान तथा स्थानीय तह र अभिभावकको साझेदारीमा एक वर्षे प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन गरिनेछ ।
ग) पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूको स्याहार, पोषण र स्वास्थ्य विकासका लागि अभिभावकको लगानीमा विद्यालयभित्र वा बाहिर बालविकास तथा स्याहार केन्द्र स्थापना र सञ्चालन गर्न सकिने व्यवस्था मिलाइनेछ ।
घ) बालबालिकाको सर्वाङ्गीण विकासका निमित्त अभिभावकलाई प्रेरित गर्न स्थानीय तहका शिक्षा, स्वास्थ्य र सुरक्षा लगायतका निकायहरूको संयुक्त सहभागितामा अभिभावक जागरण कार्यक्रम सञ्चलन गरिनेछ ।
ङ) प्रारम्भिक बालविकास कक्षा र बालविकास केन्द्रका शिक्षकहरूको न्यूनतम योग्यता निर्धारण गरी हाल कार्यरत बालविकास शिक्षकहरूलाई योग्यतामा आधारित वृति विकास र स्तर बृद्धिको अवसर प्रदान गर्ने ।
च) प्रारम्भिक बालविकास कक्षा र बालविकास केन्द्रमा बालबालिकाको सर्वाङ्गीण विकास तथा आधारभूत शिक्षाको तयारीका लागि पर्याप्त पूर्वाधार व्यवस्था गरी अभिभावकको समेत सहभागितामा बालविकास कक्षामा गुणस्तरीय पूर्वाधार र गतिविधिहरू व्यवस्थित प्रभावकारी र बालमैत्री बनाइने ।


५. दिगो विकास लक्ष्य ( SDG) – २०३० :


उद्देश्य :
क) प्राथमिक विद्यालय भर्नाको तयारीका लागि सबै छात्रा तथा छात्रहरूको गुणस्तरीय प्रारम्भिक बाल विकास तथा स्याहार र पूर्व प्राथमिक शिक्षामा पहुँचको सुनिश्चित गर्ने ।
ख) परिमाणात्मक लक्ष्य :
ग) सन् २०३० सम्ममा सबै बालबालिकाहरूलाई प्राथमिक शिक्षाको लागि तयार गर्न गुणस्तरीय प्रारम्भिक बालविकास हेरचाह र पूर्वप्राथमिक शिक्षामा यिनीहरूको पहुँच सुनिश्चित गर्ने ।


प्रारम्भिक बालविकास तथा शिक्षामा आधारित केही तथ्याङ्क :
क) सामुदायिक ECD – २९,७४१
ख) संस्थागत ECD – ६,५१०
ग) परम्परागत ECD – ४६१
घ) जम्मा ECD – ३६,७१२
ङ) सन् २०२१ सम्ममा प्रारम्भिक बाल विकास तथा शिक्षामा कूल भर्नादर ८७.६ प्रतिशत ।
च) प्रारम्भिक बालविकास तथा शिक्षाको अनुभवसहित कक्षा १ मा प्रवेश गर्ने बालबालिका ७०.२ प्रतिशत ।
छ) प्रारम्भिक बालविकास तथा शिक्षामा ४ वर्षका बालबालिकाको भर्नादर जम्मा ६८.२ प्रतिशत


स्रोत : विद्यालय शिक्षा क्षेत्रको योजना (२०७८ – २०८७)